चीनको वुहानमा हृदयाघातले नेपालीको मृत्यु : शव ल्याउन समस्या
चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।
नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षीय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।
करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया शुरु भइसकेको दूतावासका अधिकारीले बताए।
बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार गत शनिवार राति केही नेपाली साथीहरूसँगै रहेका उनको सुतेकै अवस्थामा निधन भएको थियो।
बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै लम्सालले भने, ‘हामीले शव नेपाल फर्काउने पहल गरिरहेका छौँ। वुहानमा आवागमन नियन्त्रित भएकाले समस्या भएको हो।’
वुहानको अवस्था
श्वाप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।
कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ शहर वुहानबाट अन्यत्र फैलिइसकेको छ।
६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ।
लम्सालले खड्काको शव नेपाल पठाउन वुहानको अवस्था सामान्य हुनुपर्ने देखिएको बताए।
नेपालीमा संक्रमण देखिएको छैन
बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस संक्रमण भएको सूचना आएको छैन।
तर दूतावासले चीनमा रहेका सबै नेपालीलाई भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।
दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा सांघाइस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ।
नेपाली दूतावासका उपप्रमुख लम्सालका अनुसार चीनका विभिन्न शहरहरूमा करिब ८ हजार विद्यार्थी र विभिन्न पेसा तथा व्यवसायमा संलग्न गरी करिब १२ हजार नेपाली रहेका छन्।
बीबीसी नेपाली





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण