चीनमा कोरोना भाइरसले ६ जनाको मृत्यु, ३०० संक्रमित
‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा मंगलबारसम्म छ जनाको मृत्यु भएको छ।
चीनको मध्यक्षेत्र वुहान शहरमा केही सातापहिले देखिएको ‘कोरोना भाइरस’ मृत्यु हुनेको संख्या छ पुगेको छ, वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई जानकारी गराए।
उनले प्रभावितहरूको संख्या २९१ पुगेको बताए साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालमा पुगेको उनले बताए। रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लागि एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षण कडा बनाइएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोना भाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाइ यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन्।
सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’ लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ। तर पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन्। रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ।
अनुसन्धानकर्ताहरूले नयाँ रोगको संक्रमण चीनबाहिर पनि नगण्य मात्रामा रहेको बताएका छन्। उनीहरूका अनुसार थाइल्याण्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक\एक जनामा संक्रमण देखिएको छ।
सिङ्गापुर र हङकङले वुहानबाट आउने हवाइ यात्रुको स्वास्थ्य जाँच गर्न थालिसकेका छन्। संक्रमण फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ भने रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ। नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि यसबाट सावधानी अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यसको संक्रमण संक्रमित वुहानस्थित ’सीफूड’ बिक्री हुने एउटा बजारसम्म फैलिएको चिकित्सकहरूले बताएका छन्।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित