दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीकाे प्रतिबद्धता
तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दमौली अस्पतालकाे स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अस्पतालको भौतिक एवं अन्य विकासको लागि प्रदेश सरकारले तत्काल तीन करोड रूपैयाँ विनियोजन गर्ने बताए।
दमौली अस्पताल व्यवस्थापन समितिले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्तरोन्नतिको गरी प्रादेशिक अस्पताल बनाउने बताए। अस्पतालको बारेमा विस्तृत अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने भन्दै मुख्यमन्त्री गुरुङले प्राविधिकको प्रतिवेदनपछि थप आवश्यक पूर्वाधारको व्यवस्था गर्न सहज हुने धारणा राखे।
छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ ‘किसान’, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेशसभा सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी थिए। कार्यक्रममा अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको बारेमा जानकारी गराए।
१५ शय्या क्षमताको अस्पतालबाट हाल ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ। सरकारीतर्फ २४ जना दरबन्दी भएपनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स\अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन\असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक छन्।
अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा प्रदान गर्दै आइरहेको छ। १५ रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन।
याे अस्पताल २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र ०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको थियाे। ०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो। ०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो। सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको थियाे। यस्तै ०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल