माध्यमिकदेखि उच्चशिक्षासम्म योगशिक्षाको पाठ्यक्रम तयार
काठमाडौं : जीवन दर्शनकै रूपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषय समावेश गर्न थालिएको छ।
विभिन्न विश्वविद्यालयले समेत स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग अध्ययनअध्यापनका लागि तयारी गरेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई’ को ‘लेभल २’ मा तीनवर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले विगतमा कक्षा ९ मा योग विषयको पाठ्यक्रम रहेकामा अब एकीकृत पाठ्यक्रमका रूपमा कक्षा १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका अलग अलग तीन ऐच्छिक विषय पढ्न सकिने जानकारी दिए। पाठ्यक्रम तयार भइसकेकाले लागू गराउन चाहने विद्यालयले माग गरेका आधारमा पाठ्यपुस्तक उपलब्ध गराउने उनको भनाइ छ।
योग प्रशिक्षक एवं अभियानकर्मी डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित कार्यदलले माध्यमिक तहको योग विषयको पाठ्यक्रम तर्जुमा गर्न सुझाव दिएको थियो। सुझावलाई पाठ्यक्रम विकास परिषद्ले स्वीकृत गरेको थियो ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसमा जारी भएको राष्ट्रिय शिक्षा नीति, २०७६ ले नेपाललाई हिन्दू, बौद्धलगायत पौरस्त्य दर्शन, सभ्यता, संस्कृतिलगायतको केन्द्रविन्दु बनाई पूर्वीय दर्शन, पूर्वीय चिन्तन, मौलिक दर्शन एवं परम्परा, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा आदि विषयको अध्ययन तथा अनुसन्धान केन्द्रको विकास गर्ने रणनीति लिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण