Health TV Online
Health TV Online
Health TV Online

बिमा नवीकरण गर्न सेवाग्राहीले देखाएनन् चासाे

बिमा नवीकरण गर्न सेवाग्राहीले देखाएनन् चासाे

चितवन : स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ। बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन्।

जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्यांक छ। तीमध्ये दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बिमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिइन्।

जिल्लामा २०७३ साल असार १ गतेदेखि चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो। चितवन झापापछि सबैभन्दा धेरै स्वास्थ्य बिमा गर्ने जिल्लामा पर्छ। सेवा प्रदायकको झञ्झटिलो स्वास्थ्य सेवा, बिमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बिमा बोर्डको झञ्झटिलो प्रक्रियालगायतका कारण पनि नवीकरण कम भएको स्वास्थ्यकर्मी बताउँछन्।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बीमा कार्यक्रम लागू गरेको थियो। दिनप्रतिदिन बीमाप्रति नागरिकको आकर्षण बढेको तर नवीकरण कम भएको भरतपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद सापकोटाले बताए।

चितवनको भरतपुर अस्पताल, रत्ननगरको बकुलहर अस्पताल, माडीको बघौँडा अस्पताल तथा शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवाविन्दु तोकिएको छ। अस्पतालमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट एकदेखि दुई लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्छन्।

चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र मनकामना अस्पतालमा रिफरल अस्पतालका रूपमा बिमा कार्यक्रम लागू भएको छ । विशेषज्ञ चिकित्सक नभएका अस्पताल र स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रम लागू हुँदैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार