Health TV Online
Health TV Online
Health TV Online

एमडीआर टीबीका बिरामीलाई घरनजिकैकाे स्वास्थ्य संस्थाबाट औषधि खुवाइँदै

एमडीआर टीबीका बिरामीलाई घरनजिकैकाे स्वास्थ्य संस्थाबाट औषधि खुवाइँदै

काठमाडौं : राष्ट्रिय क्षयरोग केन्द्रले दामियन फाउन्डेसनको सहयोगमा बहुऔषधि प्रतिरोधी अर्थात् एमडीआर टीबीका बिरामीलाई उनीहरुको घरनजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम शुरु गरेको छ। नेपालमा पहिलोपटक बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परसपुरबाट औषधि खुवाउन शुरु गरिएको हो।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.सागरकुमार राजभण्डारीले एमडीआर टीबीका बिरामीलाई उनीहरूको घरनजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाउने कार्यक्रम शुरु गरे बाँकेसँगै प्रदेश ५ का बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पा र नवलपरासी सुस्ता पश्चिमका जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुँदैछ।

एमडीआरका बिरामीको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन बिरामीलाई सम्भव भएसम्म उनीहरूको घर नजिकै औषधी खान पाउने व्यवस्था गर्न लागिएको दामियन फाउन्डेसन नेपालका प्रतिनिधि डा. सुशील कोइलालले बताए।

सामान्य खालको टीबीका बिरामीलाई घरनजिकको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आए भए पनि कडा खालको टीबीका बिरामीलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुविधासम्पन्न अस्पतालबाट मात्रै औषधि खुवाउने गरिएको थियो।

सामान्यतया एमडीआर टीबीका बिरामीले स्वास्थ्यकर्मीको निगरानीमा ९ देखि २० महिनासम्म नियमित रूपमा औषधि खानुपर्छ। औषधि खानैका लागि हरेक दिन घण्टौ टाढा रहेका अस्पतालमा जानुपर्ने बाध्यता थियो। टाढा जानुपर्ने बाध्यताका कारण आर्थिक रूपले विपन्न परिवारका बिरामी कठिनाइ खेप्न बाध्य थिए।

दामियन फाउन्डेसनको सहयोगमा बिरामीको घरनजिकै रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीको घरनजिकै घर भएका अन्य स्वास्थ्यकर्मी लाई तालिम दिएर बिरामीलाई सकेसम्म नजिक पर्ने स्थानबाट औषधि खुवाउन लागिएको हो। नेपालमा एमडीआर टीबीका बिरामीका लागि सन् २००५ देखि उपचारको व्यवस्था गरिएको छ।

नेपालमा वार्षिक करिब ६०० एमडीआरका नयाँ बिरामी भेटिए पनि ४५० बिरामीले मात्रै औषधि खाने गरेका छन्। सामान्य टीबीबाट भने नेपालमा वार्षिक करिब ४५ हजार मानिस बिरामी हुने गरेका छन्। टीबीरोगका बिरामीमध्ये अझै पनि १२ हजार उपचारका पहुँचमा आउन सकेका छैनन्।

उपचारको पहुँचमा आएर औषधि खान शुरु गरेका बिरामी पनि ‘कोर्स’ पूरा नहुदै बिचैमा छोड्ने प्रवृत्ति छ। बिचैमा छाडेका बिरामीलाई सामान्य औषधिले काम नगर्ने अर्थात बहु औषधी प्रतिरोगी टीबीको संक्रमण हुने जोखिम उच्च हुन्छ। यसैगरी केही बिरामीमा शुरुमै कडा खालको एमडीआर टीबीको संक्रमण पाइने गरेको छ।

कुपोषित बालबालिका, गरिब तथा विपन्न परिवारका सदस्य तथा बढी तनावमा रहने व्यक्तिमा टीबीरोगको संक्रमण हुने सम्भावना बढी हुन्छ। नेपालमा टीबी रोगका कारण दैनिक १८ देखि २२ जनाको मृत्यु हुने गरेको छ। गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरीतिका साथै निदान र उपचार निःशुल्क पाइने जानकारी सर्वसाधरणसम्म नपुग्दा टिबी रोग नियन्त्रण हुन सकेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार