कस्तो एम्बुलेन्स दियो प्रदेश सरकारले, ब्रेक नलाग्ने, गति लिन खोजे पल्टिने!
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले दिएकाे १६ एम्बुलेन्स कामै नलाग्ने
डोटी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किएका छन् ।
मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ ।सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन्। सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छाडेका छन्।
जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए। नयाँ भनिएकाे एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तातेर गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिन खोजे पल्टिनेलगायतका समस्या उनले बताए। ‘नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के एम्बुलेन्स चलाउनु!’, धामीले भने।
सरकारले दिएकोभन्दा विभिन्न संघ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए। ‘एम्बुलेन्स पुराना हुन्’, उनले भने, ‘रंगरोगनले मात्रै नयाँ भएको हो। त्यसैले चलाउनै डरलाग्छ।’ मन्त्रालयले बाँडेका एम्बुलेन्स धमाधम बिग्रिन थालेको चालक बताउँछन्। ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ रहेको उनीहरू बताउँछन्।
चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा ईसीजी सेवा मात्र छ। कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरूले बताए। एम्बुलेन्स दिए पनि सबै सुविधा र सामग्री भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ।
मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे। ‘एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ’, उनले भने, ‘हामीले मर्मतका लागि पठाउने गरेका छौँ।’ मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण