रूपन्देहीमा ५८ प्रतिशत महिलाले गराए असुरक्षित गर्भपतन
रूपन्देही : जिल्लामा ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गर्ने गरेको एक तथ्याङ्कले देखाएकाे छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत आइपास नेपालले यस्ताे तथ्यांक सार्वजनिक गरेकाे हाे।
महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्भपतन गर्नुपर्ने प्रावधान भए पनि चेतना कमीका कारण असुरक्षित गर्भपतन गराउनेको संख्या कमी हुन नसकेको आइपास नेपालका प्रतिनिधि लक्ष्मण केसीले बताए। कतिपयले लाज र समाजमा अपहेलनामा पर्ने डरले असुरक्षित गर्भपतन गराउने गरेका छन्।
सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा पाइन्छ भन्ने जानकारीसमेत धेरैलाई छैन। ४१ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्रै गर्भपतनले कानूनी मान्यता पाएको ज्ञान भएको केसीले जानकारी दिए।
गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका ११.९८ प्रतिशत छन् भने २० वर्षमाथिका ८८.०२ प्रतिशत छन्। परिवार नियोजनका साधन प्रयोग गर्दा असर गर्छ भन्ने भ्रमका कारण अनिच्छित गर्भ रहने कारण गर्भपतन गराउनेको संख्या बढेकाव गएको महिला कानून र विकास मञ्चका प्रदेश संयोजक नरेन्द्र बस्यालको भनाइ छ ।
‘असुरक्षित गर्भपतन घटाउन निःशुल्क सेवामा मात्रै लगानी गरेर पुग्दैन’, उनले भने, ‘गर्भपतनबारे विद्यालय, घर र समुदायलाई नै सचेत गराउनुपर्छ।’ गर्भपतनले कानूनी मान्यता पाइसकेको र यो निःशुल्क छ भन्नेबारे ग्रामीण भेग तथा शहरका शिक्षित महिला तथा किशोरी पनि जानकार नभएकाले सचेतनाका कार्यक्रम बढाउनुपर्ने सुझाव उनले दिए।
आइपास नेपालको तथ्यांकअनुसार प्रदेश ५ मा आर्थिक वर्ष ०७५\७६ मा १७ हजार ३१२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। अघिल्लो वर्ष यो संख्या १८ हजार ७६३ थियो। यो आवमा दुई हजार ६२८ ले असुरक्षित गर्भपतन गराएका कारण समस्या देखिएपछि अस्पतालमा थप सेवा लिएका थिए। अघिल्लो वर्ष यो संख्या तीन हजार ३०६ थियो ।
प्रदेशमा सुरक्षित गर्भपतन गराए पनि थप समस्या देखिएका कारण यो वर्ष एक हजार ८५५ ले उपचार गराएका थिए। अघिल्लो वर्ष ०७४\७५ मा दुई हजार ८८ ले उपचार गराएका थिए। प्रदेश ५ मा २६४ संस्था सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण