चिसोमा बालबालिकालाई कसरी जोगाउने?
काठमाडौं : चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्यचौकीमा बिरामीको घुइँचो बढेको छ। चिसाेमा विशेषगरी बालबालिका बढी प्रभावित हुन्छन्।
बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडाबान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सक सुझाव दिन्छन्। विशेषगरी पाँच वर्षभन्दा कम उमेरकालाई रुघाखोकी र निमोनिया हुनसक्ने पाटन अस्पतालका बाल विशेषज्ञ डा. भीष्म पोखरेल बताउँछन्।
‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ। पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडाबान्ताको बढी समस्या देखिन्छ’, उनी भन्छन्। उनका अनुसार घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई परै राख्नुपर्छ। भीडभाडमा पनि लैजान हुँदैन।चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ पनि गराउन सक्छ।
डा. पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन आग्रह गरे। उनले दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउनुपर्ने बताए। बालबालिकालाई दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिँदा पनि उनीहरूमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ।
बाल सर्जन डा. दिनेश कोइराला बालबालिकालाई चिसोमा टाउको दुख्न सक्ने भएकाले जोगाउन सल्लाह दिन्छन्। बाहिर हिँडाउँदा बालबालिकाहरूलाई शरीर पूरै छोप्ने लुगा लगाइदिन उनले सुझाव दिए। ‘चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ। चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्छ। आन्द्रामा असर गर्न सक्छ’, उनले भने।
डा. दिनेश कोइरालाले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गरे। अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्नसक्ने र दम बिग्रिएमा निमोनिया हुने उनको भनाइ छ। छालामा बोसो कम हुने हुँदा चिसोले उनीहरूलाई चाँडै समाउने उनले बताए।
जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरू खेलेर आलो वा हिटरमा पर्नसक्नेमा सचेत हुनुपर्छ। घरका झ्याल ढोका थुनेर आगो बाल्दा कोठामा अक्सिजन कम भई मानिसको मृत्यु हुनसक्नेमा सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण