Health TV Online
Health TV Online
Health TV Online

बन्दाले कसरी क्यान्सर रोकथाम गर्न सक्छ?

बन्दाले कसरी क्यान्सर रोकथाम गर्न सक्छ?

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन्। तिनमा बन्दा र ब्रोकाउली पनि छन्।

‘क्रुसिफेरी’ वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ। तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन।

फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन्।

क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ।

यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो।

आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ। यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ।

तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ। नत्र यसले क्यान्सर वा आन्द्रामा ‘इन्फ्लमेसन’ अर्थात् शूल हुनसक्छ।

‘इम्युनिटी’ जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ।

भान्सादेखि क्यान्सर रोकथामसम्म

यी सागपात चबाउँदा बन्ने इन्डोल–३ कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरे। अनुसन्धानकर्ता डा. गिटा स्टकिङ्गर भन्छिन्, ‘सागपात धेरै नपाकोस्, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ।’

पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसँग मिसिएर परिवर्तित हुन्छ।

तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने ‘स्टेम सेल’ र शूल नियन्त्रण गर्ने ‘इम्युन सेल’हरूको गतिविधिलाई फेरिदिन सक्छ।

अनुसन्धानले इन्डोल–३ कार्बिनल प्रचर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ।

स्टकिङ्गर भन्छिन्, ‘मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो।’

स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा ‘आशाप्रद’ छ। आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन्।

‘यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ’, उनले भनिन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार