बन्ध्याकरण गर्नै मान्दैनन् पुरूष, अस्थायी साधन प्रयोग गर्नेमा पनि महिला अगाडि
कैलाली : जिल्लाका छ ठाउँमा हालै स्थायी बन्ध्याकरण शिविर सम्पन्न भयो, जहाँ १४७ जनाले बन्ध्याकरण गरे। तर पुरुष तीनजना मात्रै थिए।
उदासीपुर, पहलमानपुर, दरख, बर्दगोरियाको दोदोधारा, बलिया र टीकापुर अस्पतालमा शिविर आयोजना भएको हो। शिविरमा बन्ध्याकरण गर्न धेरैजसो महिला नै आएका थिए। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्नेमा अधिकांश महिलारहेको बताए। ‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भन्यौँ’, उनले भने, ‘आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनेर त्यसै फर्किए।’
यस्तै यही पुस ८ र ९ गते टीकापुर अस्पतालमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा ७५ जनाले बन्ध्याकरण गरेका छन्। बन्ध्याकरण गर्ने सबै महिला छन्। ‘बन्ध्याकरणका लागि गाउँगाउँबाट सेवाग्राही ल्याउने काम स्वास्थ्यकर्मी र हामीले गर्यौँ’, स्वयंसेविका चन्द्रावती शर्माले भनिन्, ‘दुई वा दुईभन्दा बढी सन्तान जन्माएका धेरै दम्पतीलाई अनुरोध गरेंँ, तर पुरुष कसैले मानेनन्।’
स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताइन्। ‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’, उनले भनिन्, ‘पुरुषले परिवार नियोजन महिलाकै जिम्मेवारी जस्तो गर्ने गरेका छन्।
पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण भएको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन्। उनका अनुसार पुरुषहरूको शुक्रवाहिनी नली आवश्यकता परे फेरि जोडेर सन्तान जन्माउन सकिन्छ। महिलाले भने मिनील्याप गरिसकेपछि सन्तान जन्माउनै सक्दैनन्। ‘परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने महिला घर फर्किन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउँदैनन्।’
कैलालीका भजनी र जोशीपुरमा शिविर सञ्चालन भइरहेको छ। विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरू परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ।
परिवार नियोजन निरीक्षक चापागाईँ अस्थायी साधन प्रयोग गर्नेमा पनि महिलाको सङ्ख्या धेरै रहेको बताउँछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित