Health TV Online
Health TV Online
Health TV Online

गर्भवती र सुत्केरीको घरमा झण्डा, हातमा अण्डा

गर्भवती र सुत्केरीको घरमा झण्डा, हातमा अण्डा

जाजरकोट : गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ। नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवती पहिचान गरी घरघरमा झण्डा गाड्ने भएको छ।

झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइने भएको छ।

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ। गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेको महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिए। प्रत्येक वडाबाट ३५ जना पर्नेगरी ती सामग्री वितरण गरिनेछ।

अर्थ अभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको ज्यान जाने गरेको अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउन विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ।

त्यस्तै सुत्केरीलाई चिसोमा स्याहारसुसार गर्नका लागि हिटर वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए। चेतना अभावमा घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालेको उनले जानकारी दिए। उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार