Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालबीच सम्झाैता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालबीच सम्झाैता

सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पतालबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीनवर्षीय करार सम्झौता भएको छ।

प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग एवं उपलब्ध जनशक्तिको परिचालन गरी शिक्षण, अनुसन्धान र सेवा प्रवाहमा गुणात्मक विकास, जनशक्ति उत्पादन तथा विस्तार गर्न आइतबार सम्झौता भएको हो।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाही, प्रतिष्ठान जुम्लाका तर्फबाट रजिष्ट्रार विश्वराज काफ्ले, डीन रेशमबहादुर राना र हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल तथा प्रदेश अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्का र डा. नवराज केसीले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तथा शिक्षामा गुणात्मक सुधार ल्याउन सम्झौता उपलब्धिमूलक बन्ने अपेक्षा राखे।

मन्त्रालयका सचिव डा. मानबहादुर विकले प्रदेश सरकारको स्वास्थ्य नीति, २०७६ को कार्यान्वयनस्वरुप पहिलो काम दुई स्वास्थ्य संस्थाबीचको सम्झौता भएको जनाए। प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम भेकका जनताको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्ने तथा संविधानप्रदत्त अधिकार सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको बताए।

सम्झौताबमोजिम प्रतिष्ठानले शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने आधारभूत सामग्री र प्राविधिक सहयोग, योग्यताप्राप्त चिकित्सकलाई शैक्षिक उपाधि प्रदान, अनुसन्धान क्रियाकलाप, जनशक्ति व्यवस्थापन तथा चिकित्सक एवं कर्मचारीको वृत्ति विकासमा सुविधा प्रदान गर्नेछ।

त्यसैगरी प्रदेश अस्पतालले प्रसूतिविद्या, एनेस्थेसिया एसिस्टेन्टजस्ता प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत छात्रछात्राका लागि आवश्यक पर्ने प्रयोगात्मक अभ्यासका निम्ति शिक्षक, चिकित्सक, कार्यरत स्वास्थ्यकर्मी, सुडेनी तथा नर्सको मातहतमा रहेर काम गर्ने अवसर प्रदान गर्नेछ।

त्यस्तै प्रतिष्ठानबाट सञ्चालित अनुसन्धानमा प्रदेश अस्पतालका कर्मचारी सहभागी गराउन अस्पताल स्वयंले सहजीकरण गर्ने र ‘लाइफ सेभिङ सर्जिकल एण्ड एक्युट केयर म्यानेज्मेन्ट स्किल’को प्रदेश अस्पतालले तालिम केन्द्रका रूपमा सहकार्य गर्ने सम्झौता भएको प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. खड्काले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार