प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा परिणत
पाल्पा : यहाँको गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ। वालिङ नगर कार्यपालिकाको यही मङ्सिर २४ गते बसेको बोर्ड बैठकले वालिङ–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।
स्तरोन्नतिसँगै गह्रौँ प्राथमिक अस्पताल नामकरण गरिएको नगरप्रमुख खाँणले बताए। ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार भएको छ भने आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन भएको छ’, नगरप्रमुख खाँणले भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर शल्यक्रिया सेवा यहीँबाट शुरु गर्छौँ। अब बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ।’
अस्पतालमा एमडीजीपी चिकित्सकमार्फत नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न विभाग गठन गरी गुणस्तरीय सेवा प्रदान गर्ने, रिफरल सेन्टरको विकास गर्नेलगायतका काम गर्ने तयारी भइरहेको नगरप्रमुख खाँणले बताए। प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहे पनि यो स्वास्थ्य केन्द्रले विगत लामो समयदेखि अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो।
सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसँगै हाल १५ शय्याको अस्पताललाई अहिलेकै ठाउँमा सञ्चालन गर्ने र अस्पताल निर्माणका लागि खरिद गरिएको २७ रोपनी क्षेत्रफलमा ५० शय्याको अस्पताल निर्माण गर्ने तयारी भइरहेको छ।
‘वालिङमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच विस्तार गर्न वालिङ–१ मा ५० शय्याको वालिङ नगर अस्पतालको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख खाँणले बताए।
‘अस्पताल सञ्चालन गर्न गण्डकी प्रदेश सरकारसँग ‘ओ एण्ड एम’ गरेर दरबन्दी सिर्जना गर्ने निर्णय नगर कार्यपालिका बैठकबाट भएको छ’, उनले भने।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण