Health TV Online
Health TV Online
Health TV Online

विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कारबाही

विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कारबाही

डाेटी : जिल्लाको दिपायल–सिलगढी नगरपालिकामा विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ।नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको हाे।

विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्न यो अभियान शुरु गरेको बताइएको छ। विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थ बिक्री हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो। विद्यालय वरपर रहेका पसलहरूमा सुर्तीजन्य पदार्थ भए\नभएकाे बारेमा नगरपालिकाका कर्मचारीले दिनहुँ अनुगमन गर्न थालेका छन्।

नगरपालिकाका उपप्रमुख शिवराज खड्काको नेतृत्वको अनुगमन समितिसमेत गठन गरी नगरपालिकाले दिनहुँ अनुगमन गर्न थालेको हो। विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ। अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याइने नगर उपप्रमुख खड्काले बताए।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न आग्रह गरेको बताए। ‘१८ वर्षभन्दा मुनिका बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ नबेच्न सार्वजनिक सूचना निकालेका छौँ’, उनले भनेे, ‘नियम मिच्नेमाथि कडा रूपमा प्रस्तुत हुनेछौँ।’

नगर उपप्रमुख खड्काका अनुसार स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यस क्रममा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ हटाउनका लागि तीव्ररूपमा बजार अनुगमन गरिन लागिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार