Health TV Online
Health TV Online
Health TV Online

जलवायु परिवर्तन : आमूल सुधार हुने गरी काम गर्न महासचिव गुटेरर्सकाे आह्वान

जलवायु परिवर्तन : आमूल सुधार हुने गरी काम गर्न महासचिव गुटेरर्सकाे आह्वान

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भीर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल सुधार हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गरेका छन्।

स्पेनको म्याड्रिडमा सोमबार शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) को उद्घाटन सत्रमा उनले यस्तो आग्रह गरेका हुन्।

महासचिव गुटेरर्सले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दा विकासशील देशका अनुकूलन क्षमता अभिवृद्धि हुने गरी रकम जोहो गर्नुपर्नेमा जोड दिएको सम्मेलनमा सहभागी वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए।

कार्बनको व्यापार सम्बन्धी छलफल गर्दा निजी क्षेत्रले पनि लाभ पाउने र सबैले संयुक्त रूपमा काम गर्नसक्ने गरी छलफल गर्न महासचिव गुटेरर्सले आग्रह गरेका छन्।

उद्घाट्न सत्रपछिको समूहगत छलफलमा जि–७७ र चीन, युरोपियन युनियन, वातावरणीय एकीकृत समूह, छाता समूह, अफ्रिकी समूह, अरब समूह, कम विकसित राष्ट्रहरुको समूहलगायतले धारणा राखेका थिए। जी–७७ र चीन तथा कम विकसित राष्ट्रहरूको समूह नेपालसँग सम्बन्धित हुन्।

जी–७७ र चीनले कार्बन व्यापारका सम्बन्धमा छलफल गर्दा दोहोरो कार्बन ‘क्रेडिट’को गणना नहुने गरी तर अनुकुलनका लागि बढी स्रोत जुट्न सक्नेगरी जान सुझाव दिएको सहसचिव ढकालले जानकारी दिए। यसैगरी‘‘जलवायु परिवर्तनका असरले क्षति तथा विनास गरेकोसम्बन्धी वार्सा अन्तर्राष्ट्रिय संयन्त्र’ को पुनरवलाेकन गर्दा प्रभाकारी संयन्त्र निर्माणमा जोड दिइएको छ। त्यसरी प्रभावकारी संयन्त्रको विकास गर्दा प्रविधि हस्तान्तरणमा विशेष जोड दिनसमेत आग्रह गरिएको छ।

अति कम विकसित राष्ट्रहरुको समूहले सन् २०२० भित्र संशोधित राष्ट्रिय योगदान प्रतिबद्धता (एनडीसी) सबै राष्ट्रले बुझाउनुपर्ने र विकसित राष्ट्रले एनडीसी बुझाउँदा महत्वाकांक्षी हुनुपर्नेमा जोड दिएको छ। सम्मेलनमा विभिन्न राष्ट्रले जलवायु परिवर्तनका क्षेत्रमा आफ्ना देशले गरेका राम्रा कामको प्रचारप्रसार गर्न अलगै कार्यक्रम गरेका छन्, जुन विकास, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध राख्नका लागि अति महत्त्वपूर्ण सम्पर्क सञ्जाल मानिन्छन्। नेपालले एउटा कार्यक्रम डिसेम्बर ७ र अर्को डिसेम्बर ११ मा राखेको छ भने अरु विभिन्न देश र संघ संस्थाहरूले आयोजना गरेको कार्यक्रममा पनि भाग लिने सहसचिव ढकालले जानकारी दिए।

सन् १९९२ मा स्थापना भई १९७ पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसीसी) को २५औँ सम्मेलन यही मंसिर १६ देखि २७ गतेसम्म स्पेनको म्याड्रिडमा भइरहेको छ। जलवायु महासन्धि कार्यान्वयनका प्रमुख आधार क्योटो अभिसन्धि र पेरिस सम्झौता हुन्। कोप–२५ चिलीको सान्टिएगोमा तय भएकाे थियाे। तर त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको म्याड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार