अपांगता भएकालाई नि: शुल्क कृत्रिम अंग
मोरङ :एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाएका पथरी–३ का १९ वर्षीय चन्द्र दर्जी कृत्रिम हात राख्न पाउँदा दंग छन्। बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले ७० वर्षको बुढ्यौलीमा कृत्रिम खुट्टा लगाए। भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर उनले खुट्टा गुमाएका थिए।
दर्जी र पौडेल मात्र होइन, ताप्लेजुङको सिरिजङ्गा–५ का २२ वर्षीय राजकुमार भण्डारीलगायत २०० जनाले अर्जुनधाराधाममा कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रमबाट लाभ उठाए।
स्वामी हेमानन्द गिरीको विशेष पहलमा कोलकाता भारतको महावीर सेवा सदनले जलेश्वरधाममा यही मंसिर १३ देखि २० गतेसम्म कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको हो। मुलुकका विभिन्न जिल्लाबाट ४०० भन्दा बढीले कृत्रिम हातखुट्टा लगाउन धाममा नाम लेखाएको र प्रत्यारोपण धमाधम भइरहेको शङ्कराचार्य गिरीले बताए। धामले ३७औँ वार्षिक धार्मिक अनुष्ठानको अवसर पारेर कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए।
महावीर सेवा सदनले झापामा पहिलोपटक यस्तो शिविर सञ्चालन गरेको हो। कोलकाताबाट सात प्राविधिकको टोली अर्जुनधाराधाममा आएर कृत्रिम हातखुट्टा बनाउने अस्थायी कारखाना नै स्थापना गरेको छ। हातखुट्टा गुमाएका व्यक्तिको नापजाँच गरेर स्वास्थ्य परीक्षणपछि कारखानामा कृत्रिम अङ्ग निर्माण गरिने मुख्य प्राविधिक मुकेश पाण्डेले बताए। कारखानाका प्राविधिकसमेत कृत्रिम हातखुट्टा प्रत्यारोपण गरेका व्यक्ति छन् ।
कृत्रिम हातखुट्टा लगाएपछि कम्तीमा पाँच वर्षसम्म कुनै मर्मतसम्भारविना हिँडडुल र सामान्य काम गर्न सकिने प्राविधिक पाण्डे बताउँछन्। प्रत्यारोपण गरिएको हात र खुट्टा साङ्गसरह देखिन्छ। अस्पतालमा एउटा कृत्रिम हात वा खुट्टा प्रत्यारोपण गर्दा ७५ हजार रुपैयाँसम्म पर्ने बताइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित