Health TV Online
Health TV Online
Health TV Online

भारतमा पशुचिकित्सकको बलात्कारपछि हत्या घटना : दाेषीलाई कारबाही माग गर्दै प्रदर्शन

भारतमा पशुचिकित्सकको बलात्कारपछि हत्या घटना : दाेषीलाई कारबाही माग गर्दै प्रदर्शन

भारतकाे दक्षिणी शहर हैदरावादमा २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनापछि आक्रोश झन् झन् चर्किरहेको छ। शहरको एक प्रहरी चौकी सामु हजारौँ मानिसले प्रदर्शन गर्दै जवाफदेहिताको माग गरेका छन्।

प्रहरीले तीन अधिकारीहरूलाई निलम्बन गरेको छ। पीडित महिलाको परिवारले उनी हराइरहेको भनेर जानकारी दिए पनि तदारुकताका साथ  तत्काल कारबाही नगरेको आरोप लागेका तीन प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ।

आफूहरूले गुनासो गर्दा ती अधिकारीले उक्त महिला कसैसँग भागेको हुनसक्ने बताएको आफन्तहरूले राष्ट्रिय महिला आयोगलाई बताएका छन्।

ती महिलाको परिवारका सदस्यले भेट्न आएका राजनीतिज्ञ एवं प्रहरी अधिकारीलाई फर्काइदिएका छन्। उनीहरूले छिटो कारबाहीको माग गरेका छन्। विभिन्न चर्चित घटनामा जनआक्रोश व्यापक देखिए पनि भारतमा महिलाविरुद्ध बलात्कार एवं अन्य हिंसा उच्च स्तरमा रहेको बताइन्छ।

बुधवार कामबाट फर्किने क्रममा हराएकी ती महिलाको जलेको शरीर भेटिएको थियो। प्रहरीले उनको हत्या अगाडि सामूहिक बलात्कार भएको बताएको छ। घटनाको सन्दर्भमा चारजनालाई पक्राउ गरिएको छ।

तीमध्ये दुई पुरुषका आमाले ती दोषी पाइए सजाय दिलाउन आह्वान गरेका छन्। ‘तिनलाई जस्तोसुकै सजाय दिए हुन्छ। मेरो पनि छोरी छ!’, एक आमाले समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)लाई भनिन्।

कस्तो छ जनआक्रोश?

शनिवार हैदराबाद नगरको बाहिरीक्षेत्रमा स्थित एक प्रहरी चौकीबाहिर हजारौँ मानिस भेला भए। तिनले दोषीलाई मृत्युदण्डको माग गरे।

हैदराबाद घटनालाई लिएर शनिवार दिल्लीमा प्रदर्शन भएको छ। देशका अन्य भागमा पनि विरोध प्रदर्शन तथा पीडितको निम्ति प्रार्थना गरिएका छन्।

ती महिलाको बसोबास रहेको शम्शावादमा समुदायले टोलमा प्रवेश गर्ने मूलगेट बन्द गरिदिएका छन्। उनीहरूले प्लेकार्ड बोकेका छन् जसमा लेखिएका छन्, ‘सञ्चारमाध्यम आउनु पर्दैन, प्रहरी पर्दैन, बाहिरिया पर्दैन, कुनै सहानुभूति चाहिँदैन, केवल कारबाही र न्याय चाहिन्छ।’

चर्चित नेताहरूले पनि घटनाबारे आफ्ना प्रतिक्रिया दिइरहेका छन्। मुख्य विपक्षी दल कंग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी वाद्राले यस्ता घटनाबाट आम मनमस्तिष्क परिवर्तित हुनुपर्ने बताइन्।

अमृतसरमा आइतवार भएको जस्तो प्रदर्शन अन्यत्र पनि भएका छन्। महिलामाथि भइरहेका बर्बर हिंसालाई सहज स्वीकार्न बन्द गर्नुपर्ने उनले बताएकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

कसरी भयो घटना?

बुधबार साँझ स्थानीय समय ६ बजेतिर ती महिला आफ्नो स्कुटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्।

पछि उनले आफ्नो स्कूटर पञ्चट भएको, र एक ट्रक ड्राइभर मद्दत गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्। उनले आफू कुनै टल प्लाजा (सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ) मा पर्खिरहेको बताएकी थिइन्।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भए। बिहीबार बिहान उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुन्तिर एक दूध व्यापारीले भेटेका थिए।

भारतको कानुनबमोजिम मृत्युपश्चात् पनि बलात्कारको पीडितको नाम खुलाउन पाइँदैन। तर शुक्रवार ती महिलाको नाम ट्विटर ट्रेन्डमा थियो, जब दशौँ हजार मानिसले आक्रोशपूर्ण ट्वीट गर्दै न्यायको माग गरे।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा बसभित्र एक महिलाको सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन्। तर त्यस्ता हिंसाका घटना कम भएका संकेत देखा परेका छैनन्।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना ( अर्थात् प्रतिदिन ९२) रेकर्ड गरिएको उल्लेख छ।

बीबीसी नेपाली

थप समाचार