Health TV Online
Health TV Online
Health TV Online

‘जलवायु परिवर्तन खतराकाे सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा’

‘जलवायु परिवर्तन खतराकाे सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्ने बताएका छन्। मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अघि उनले जलवायु परिवर्तनबारे सचेत गराएका हुन्।

के भने महासचिवले?

जलवायु परिवर्तनका खराब असर झन् झन् उजागर हुँदै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको बताए।

स्पेनको राजधानी मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अगाडि उनले प्रकृतिमाथि मानवजातिले चलाएको युद्ध बन्द गर्नुपर्ने भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुझ्न राजनीतिक इच्छाशक्ति जुटाउनु पर्ने बताए।

उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए।

गुटेरसले ऊर्जाका लागि खन्ने र ड्रिल गर्ने काम बन्द गर्नुपर्ने बरु नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने बताए।

उनले मड्रिड सम्मेलनमा खासगरी विश्वका सबभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको बताए। जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना अझै रहेको उनकाे भनाइ छ।

चेतावनीको शृङ्खला

यसअघि गत साता राष्ट्रसंघको निकाय वातावरण कार्यक्रमले यदि विश्वव्यापी तापक्रम वृद्धि दरलाई डेढ डिग्री सेल्सियसको सीमाभित्र राख्ने हो भने देशहरूले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षालाई पाँच गुनाले बढाउनु पर्ने बताएको थियो।

राष्ट्रसंघको वातावरण कार्यक्रमले पेश गरेको वार्षिक उत्सर्जनसम्बन्धी प्रतिवेदनमा सबैले वर्तमान वाचा पूरा गरे भने पनि सन् २१०० सम्म विश्व ३ डिग्री सेल्सियसले बढ्ने उल्लेख थियो।

प्रतिवेदनका लेखकहरूले धनी देशहरूले झन् चाँडो तिनका उत्सर्जन घटाउनु पर्ने उल्लेख गरेका छन्। हाल सबभन्दा धनी २० मध्ये १५ राष्ट्रसँग कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्यका लागि कुनै समयसीमा छैन।

जी ट्वेन्टी समूहका सदस्य राष्ट्रहरू विश्वभरको कार्बन उत्सर्जनको ७८ प्रतिशत भागको लागि जिम्मेवार छन्। ती देशमध्ये केवल इटली, फ्रान्स, युके र ईयूले शून्य उत्सर्जनको दीर्घकालीन लक्ष्य बनाएका छन्।

विश्व जलवायु संगठनले हरितगृह ग्यासको वायुमण्डलमा रहेको अत्यधिक परिमाणबारे प्रतिवेदन जारी गरे लगत्तै राष्ट्रसंघ वातावरण कार्यक्रमले उत्सर्जनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।

बीबीसी नेपाली

थप समाचार