Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेजहरूले भने, विद्यार्थीसँग लिएको बढी रकम फिर्ता गर्न सक्दैनौँ

मेडिकल कलेजहरूले  भने, विद्यार्थीसँग लिएको बढी रकम फिर्ता गर्न सक्दैनौँ

काठमाडौं : निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग लिएको बढी रकम फिर्ता गर्न नसक्ने अडान राखेका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर उनीहरूले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने बताएका हुन्।

बढी शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिने ‘अल्टिमेटम’ सकिएको भोलिपल्ट मेडिकल कलेज सञ्चालकहरूले शुल्क फिर्ता गर्न नसक्ने अडान राखेका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र ०७४\७५ र ०७५\७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने व्यहोराको पत्र पनि मन्त्री पोखरेललाई बुझाएका छन्। विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको बताएका छन्।

गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको रकममध्येबाटै सरकारलाई राजस्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने उनीहरूको तर्क छ।

मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई  शुल्क फिर्ता नगर्ने अडान दोहोर्‍याएपछि आगामी कदमबारे सरकारले छलफल सुरु गरेको छ। शिक्षा मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी थिए।

सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार