नेपाल चिकित्सक संघको निर्वाचन माघमा : शाखामा २ दिन, केन्द्रमा ५ दिन मतदान
काठमाडौं : नेपाल चिकित्सक संघले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। संघले बुधबार सूचना जारी गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।
संघको निर्वाचन केन्द्रमा पाँच दिन र शाखामा दुई दिन हुनेछ। सूचनाअनुसार संघका १६ शाखा कार्यालयमा माघ ४ गते र ५ गते मतदान हुनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा माघ १७ देखि २१ सम्म मतदान हुनेछ। मतदानका लागि बिहान ११देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
निर्वाचन कार्यक्रममा सहभागी हुन चाहने चिकित्सकलाई संघको केन्द्रीय कार्यालयमा मंसिर १४ गते शनिबार ३ बजेसम्म आजीवन सदस्य बन्न भनिएको छ। आजीवन सदस्यताका लागि मंसिर ७ गतेसम्ममा आवेदन दिन सकिने र शाखा कार्यालयहरूबाट आवेदन १० गतेभित्र संघको केन्द्रीय कार्यालयमा आइपुग्नुपर्ने सूचनामा जनाइएको छ।
यस्तै मंसिर २३ गते निर्वाचनमा सहभागी हुने मतदाताहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। मतदाता नामावलीमा दाबी विरोध गर्न मंसिर २४ देखि २५ गते दिउँसो १ बजेसम्म छुट्याइएको छ। २६ गते अपराह्न ४ बजे मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा मनोनयनपत्र वितरण गरिने बताइएको छ।
उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न मंसिर २७ देखि २८ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ। २८ गते अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने संघले जनाएको छ। दाबी विरोध र उम्मेदवारी फिर्ता लिने समय मंसिर ३० गते दिउँसो १ बजेसम्म तोकिएको छ।
मंसिर ३० गते अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ। मंसिर २१ गते मतदान सम्पन्न भइसकेपछि माघ २२ गते ११ बजेपछि मतगणना शुरु हुने र मतगणना सकिएपछि परिणाम प्रकाशन हुने संघले जनाएको छ।
संघको केन्द्रीय कार्यकारिणी समिति २०७६–२०७९ कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्य गरी १३ पदमा निर्वाचन हुन लागेको हो।
संघको अध्यक्षका लागि डा. लोचन कार्की र डा. पुष्पमणि खरालको नाम सार्वजनिक भएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो