Health TV Online
Health TV Online
Health TV Online

डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन

डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन

डोटी : जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडा स्वास्थ्य संस्थाविहीन छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।

उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए पनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वडा स्वास्थ्य संस्थाविहीन छन्।

स्वास्थ्य संस्थाविहीन वडामा बडिकेदार गाउँपालिकाको वडा नं. २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं. ३, सायल गाउँपालिकाको वडा नं. २, ५ र ६ तथा शिखर नगरपालिकाको वडा नं. ३ र ८ रहेका स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिश आइनसकेको बताइएकाे छ। सिफारिश आएमा मन्त्रालयमा विवरण पेश गरी चालू आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले ३१ स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सात स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रूपमा ३१ स्वास्थ्य संस्था स्थापना गरेका छन्। तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले छ, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले छ र बोगटान फुड्सिल गाउँपालिकाले पाँच स्वास्थ्य संस्था स्थापना गरेका छन्।

ती स्थानीय तहहरूले आफ्नै लगानीमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार