Health TV Online
Health TV Online
Health TV Online

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू

काठमाडौं : पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन शुरु भएको छ। ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको चारदिने अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एसियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो ।

हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन हुन्छ। सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्त्वका साथ लिएका छन्। राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० सहभागिता छ। उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी सस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सम्मेलनमा सहभागी भएका छन्।

सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार (स्केलिङ अफ न्युट्रेसन–सन) अभियानमा आबद्ध देश, अन्तर्राष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र संघीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलन तयारी बैठक शुरु भएको छ। साेमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्।

सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाजकल्याणलगायतका विषयमा २५ अलग अलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ। साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै काठमाडाैँ घोषणापत्रसमेत जारी गर्ने जनाइएको छ।

नेपाल सन अभियानको सक्रिय सदस्य देश हो । सन अभियानको सुरुआतदेखि नेपालले सन सम्मेलनमा भाग लिँदै आएको छ। सम्मेलनमा नेपालले पछिल्लो समय पोषणका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्ने आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले जानकारी दिए।

कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले पहिलो पटक सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको थियो। पहिलो योजनाको सफलतासँगै आयोगले अन्तरमन्त्रालय समन्वयमा अहिले दोस्रो चरणको पाँचवर्षे योजना कार्यान्वयन गरिरहेको छ।

हाल सातवटै प्रदेशका पोषणको स्थिति कमजोर भएका ६२ जिल्लाका ६१० स्थानीय तहमा ती कार्यक्रम पुगेका छन् । पछिल्ला समय पोषणका कार्यक्रमले समुदायमा सकारात्मक नतिजा ल्याउन सकिरहेका छैनन । परम्परागत खानखान र पत्त्रु खाना (जंक फुड) प्रति बालबालिका र युवायुवतीको बढ्दो आकर्षणले कुपोषणको समस्या न्यूनीकरणमा सफलता हात परेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार