Health TV Online
Health TV Online
Health TV Online

छात्रामैत्री शाैचालय बनेपछि नियमित विद्यालय

छात्रामैत्री शाैचालय बनेपछि नियमित विद्यालय

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि महिनावारी भएका वेला पनि छात्राहरू नियमित विद्यालय जान थालेका छन्।

आन्तरिक स्रोतबाट छात्रा शौचालयको अवस्था सुधार गरिएपछि रजस्वला हुँदा विद्यालय नआउने छात्रा विद्यालय नियमित आउन थालेका हुन्। शौचालयभित्रै पानी, सेनेटरी प्याड, ऐना, साबुनलगायतको व्यवस्था गरेका छौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भने, ‘रजस्वला भएका वेला छात्राले प्रयोग गरेका प्याड फाल्नका लागि शौचालयको भित्रपट्टि ‘इन्सुलेटर’ निर्माण गरिएको छ।’

उनका अनुसार शौचालयको व्यवस्थापनको जिम्मा विद्यालयकै एक महिला शिक्षकलाई जिम्मा दिइएको छ। महिला शिक्षकले शौचालय सरसफाइ भए\नभएको र आवश्यक सामग्री रहे\नरहेकाे जानकारी लिई व्यवस्थापन गर्दै आएका छन्। गत वर्ष विद्यालयमा २७८ छात्रा रहेकाेमा याे वर्ष ३२७ छात्रा भर्ना भएका छन्। विद्यालयमा भर्ना भएका छात्रा शौचालयकै सहजताका कारण विद्यालय आउने गरेका छन्।

‘विद्यालयका चार भवनमा रहेका १३ शौचालय सरसफाइको कमीले एउटा पनि सञ्चालनमा थिएनन्’, अध्यक्ष साउदले भने, ‘सबै शौचालयमा सरसफाइ गरी प्रयोग गर्न सक्ने बनाएका छौँ। पानीका लागि विद्युतीय मोटर जडान गरी एक हजार लिटरका दुई पानीट्याङ्कीको व्यवस्था गरेपछि शौचालय प्रयोगमा आएका छन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार