Health TV Online
Health TV Online
Health TV Online

तिहारमा मिठाइ खाँदै हुनुहुन्छ? सावधान! नाम चलेकै पसल बेच्छन् गुणस्तरहीन खाद्यवस्तु

तिहारमा मिठाइ खाँदै हुनुहुन्छ? सावधान! नाम चलेकै पसल बेच्छन् गुणस्तरहीन खाद्यवस्तु

काठमाडौँ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाइ पसलबाट उत्पादन भएका मिठाइ र अन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन्।

शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेबल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो। अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाइ पसलमा २६ किलोे र वाग्मती स्वीटबाट १० किलो मिठाइ बनाउने पिठोमा साङ्ला भेटिएको पाइएकाे थियाे।  त्यस क्रममा करिब १६० मिठाइ नष्ट गरिएको छ।

अनुगमन टोलीले उक्त मिठाइ पसललाई सरसफाइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । जनस्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुनसक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दूधजन्य खाद्यवस्तु, सुक्खा प्याकिङ गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ फुड, तरकारी, फलफूल र फूलको बजारमा गुणस्तर तथा मूल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादनस्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चयस्थल, थोक तथा खुद्रा बिक्रीस्थल, उपभोगस्थललगायतका ठाउँ वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यावसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल र विज्ञापनजस्ता व्यापारिक क्रियाकलाप हेरिन्छ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले अनुगमनका क्रममा कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल पाँच हजार बढीमा रु तीन लाख जरिवाना गराउने सक्ने व्यवस्था छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार