Health TV Online
Health TV Online
Health TV Online

कारागार अस्पतालमा दन्तसेवा शुरु

कारागार अस्पतालमा दन्तसेवा शुरु

काठमाडाैं : कैदीबन्दीको उपचार गर्ने नेपालको एकमात्र कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ।  सुन्धारा परिसरमा रहेको केन्द्रीय कारागारअन्तर्गतकाे अस्पतालले विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।

२०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गरेर २०६८ सालदेखि १५ शय्याको अस्पतालमार्फत सेवा प्रदान गर्न थालिएको थियो। गत वर्ष ३० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिएको उक्त अस्पतालले शय्याको स्तरोन्नतिसँगै सेवासमेत थप गरेको राससले जनाएकाे छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सचिन यादवले कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गरेकाे बताए। ‘कैदीबन्दीलाई सबै रोगको उपचार कारागार अस्पतालभित्रै गर्ने व्यवस्थाका लागि उक्त सेवा विस्तार गरेका हौँ’ उनले भने।

कारागार अस्पतालले हाल बहिरंग सेवा, अन्तरंग सेवा, छालारोग, आँखा, मनोरोग, क्षयरोग र कुष्ठरोग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ। दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन भएको छ। केन्द्रीय कारागारमा हाल तीन हजार २०८ कैदीबन्दी छन्। केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल छ। तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको केन्द्रीय कारागारका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपीडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको यादवले बताए । पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा रहँदा ३१ दरबन्दी रहेको अस्पतालले ३० शय्याको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको छ । उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार