Health TV Online
Health TV Online
Health TV Online

बढी शुल्क फिर्ता माग्न जाँदा विद्यार्थीमाथि कुटपिट

बढी शुल्क फिर्ता माग्न जाँदा विद्यार्थीमाथि कुटपिट

पर्सा : सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेसनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ। चितवनबाट आएका चिकित्सा शिक्षा सुधार संघर्ष समितिका पदाधिकारीहरूसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरूमाथि कलेज व्यवस्थापले हातपात गरेपछि विरोधमा विद्यार्थीहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन्। चितवनबाट आएका विद्यार्थीहरुसँगै नेसनल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले जुलुस निकाली प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै समितिका संयोजक चन्दले बढी लिएको शुल्क फिर्ता माग्दा कलेजका प्रबन्धक बरसुद्दीन अन्सारीलगायतका व्यक्तिले आफूहरूमाथि हातपात गरेको आरोप लगाए। उनले कलेजले चिकित्सा शिक्षा संकायमा अध्ययनरत प्रतिविद्यार्थीबाट५५ लाखदेखि ६२ लाख रूपैयाँसम्म शुल्क लिएको प्रमाण आफूहरूसँग रहेको दाबी गरे।

सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने नेशनल मेडिकल कलेजविरुद्ध आफूहरु ठगी मुद्दा हाल्ने संयोजक चन्दले जानकारी दिए। यसै विषयमा बुझ्दा प्रबन्धक अन्सारीले बाहिरबाट आएका विद्यार्थीहरुले कलेज बन्द गराउन खोज्दा उनीहरूलाई नेशनल मेडिकल कलेजमै अध्ययनरत ‘सिनियर’ विद्यार्थीहरुले कुटपिट गरेको बताए।

‘चिकित्सा शिक्षा संकायको शुल्कको विषय प्रतिनिधिसभामा छलफल भइरहेको र प्रतिनिधिसभाले जति शुल्क निर्धारण गर्छ, हामी त्यति नै लिन्छौँ’, उनले भने, ‘बढी रकम फिर्ता हुन्छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार