Health TV Online
Health TV Online
Health TV Online

एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत छात्रवृत्ति : दरखास्त आह्वान

अनलाइनमार्फत कात्तिक २० गतेसम्म भर्न सकिने

एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत छात्रवृत्ति : दरखास्त आह्वान

काठमाडाैं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलोपटक चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयको छात्रवृत्ति शाखाले बुधबार सूचना जारी गरी ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाएको छ।

सूचनामा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ।

न्यूनतम ५० प्रतिशत अङ्कलाई प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने र निवेदन अनलाइनमार्फत कात्तिक २० गतेसम्म कायम रहेको सूचनामा जनाइएको छ।

अब एमबीबीएस र बीडीएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन्।

यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले कुल सिट सङ्ख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ। बाँकी मेडिकल कलेजहरूले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान रहेको छ।

हालै चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क तय गरेको थियो। नयाँ शैक्षिक सत्र २०७६\७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह अन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि उपत्यकाभित्र एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार २५० रूपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ शुल्क आयोगले निर्धारण गरेको थियो। त्यसैगरी, बीडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० रूपैयाँ तोकिएको थियो।

यसअघि उपत्यकाभित्र एमबीबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार रूपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रूपैयाँ तथा बीडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो। एमबिबिएस तह अध्ययन गर्न करीब दुई लाख रूपैयाँ र बीडीएस तहमा करिब एक लाख रूपैयाँ शुल्क वृद्धि भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार