Health TV Online
Health TV Online
Health TV Online

गर्भवतीलाई अस्पताल लैजान छैन एम्बुलेन्स, गाडा र टाँगाको भर

गर्भवतीलाई अस्पताल लैजान छैन एम्बुलेन्स, गाडा र टाँगाको भर

बाँके : नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ। यहाँका नागरिक स्वास्थ्यप्रति चेतनास्तर धेरै बढेको छ।

नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने मानसिकता विकास हुँदैछ। चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्न आउनेको घुइँचो हुने गरेको छ। नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पुर्याएको छ ।

“पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा घुइँचाे नै लाग्छ”, अनमी आशा सार्कीले भनिन्। तर, स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा सुत्केरी हुन आउने महिलाका लागि लडिया र बुकी भरपर्दो सवारी साधन बनेका छन्। मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगञ्जभन्दा केही टाढा रहेकाले सुत्केरी व्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा) र बुकी (टाँगाजस्तै) को भर पर्नुपर्ने बाध्यता छ।

त्यसो त एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले उनीहरूको प्राथमिकतामा लडिया र बुकी नै पर्छन् । ‘एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ। खर्चका हिसाबले पनि निकै सस्तो पर्छ’, अनमी सार्कीले भनिन्। सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरिएको छ।

स्वास्थ्यचौकीका इन्चार्ज सरोजकुमार मिश्रले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताए। ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ’, उनले भने, ‘सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार