Health TV Online
Health TV Online
Health TV Online

प्रदेश ५ मा असुरक्षित गर्भपतन गराउने बढे

प्रदेश ५ मा असुरक्षित गर्भपतन गराउने बढे

रूपन्देही : सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिए पनि असुरक्षित गर्भपतन रोकिएको छैन । प्रदेश ५ मा आर्थिक वर्ष २०७५\७६ मा १७ हजार १३५ महिलाले गर्भपतन गराएको तथ्याङ्क छ । तिमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले बताइन्।

उनका अनुसार गत आवमा सबैभन्दा बढी कपिलवस्तुमा तीन हजार २८० महिलाले गर्भपतन गराएका छन्। सबैभन्दा कम प्यूठानमा ६०६ ले गर्भपतन गराएका छन् । यस्तै पाल्पामा ८१५, रुपन्देहीमा एक हजार २९६ र नवलपरासीमा एक हजार २२५ महिलाले गर्भपतन गराएका छन्। यस्तै अर्घाखाँचीमा ७६८, र दाङमा एक हजार ८८६ महिलाले गर्भपतन गराएका छन्।

सामाजिक लाञ्छना र भेदभावका कारण महिलाले असुरक्षित तरिकाले गर्भपतन गराउँदा समस्या आउने गरेको उनले बताइन्। सुरक्षित गर्भपतनले मान्यता पाएको १६ वर्ष पुग्दासमेत असुरक्षित गर्भपतन गराउने क्रम नरोकिनु दुःखद भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताइन्।

‘झण्डै ५९ प्रतिशत महिलालाई सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको छ भन्ने जानकारी नै छैन’, चौधरीले भनिन्, ‘तालिम नलिएका र सूचीकृत नभएका केही स्वास्थ्यकर्मी र औषधि पसलले पनि सेवा दिँदा समस्या थपिएको छ।’ असुरक्षित गर्भपतनको अन्त्यका लागि परिवार नियोजनका साधनको प्रयोगको दर बढाउनुपर्नेमा उनको भनाइ छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट डा शकुन्तला शर्माका अनुसार अनिच्छित गर्भलाई निरन्तरता दिने या नदिने भन्ने महिलाको अधिकार हाे। महिलाले चाहेको खण्डमा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ र महिलाको ज्यानमा खतरापर्ने भएमा चिकित्सकको सल्लाह बमोजिम २८ हप्तासम्मको गर्भपतन गराउन पाउने व्यवस्था रहेको चाैधरीले जानकारी दिइन्।

गर्भपतन महिलाको रहर नभइ बाध्यता भएकाले यसको नियन्त्रणका लागि परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने परिवार नियोजन सङ्घका शाखा प्रबन्धक मोहन बस्यालले बताए।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले विवाह पहिले हुने यौन सम्बन्धका कारण पनि गर्भपतन गराउनेको संख्या बढेकाले किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकार बनाउनुपर्ने तर्क गरे।  परिवार नियोजनका साधनको प्रयोग सम्बन्धी सचेतना बढाएर असुरक्षित गर्भपतन घटाउन समुदायस्तरमा कार्यक्रम गरिरहेको उनले बताए।

रासस

थप समाचार