आज परिवार नियोजन दिवस : आधुनिक साधन प्रयोगदर ६० वर्षमा ४३ प्रतिशत
काठमाडौं : ‘किशोर किशोरीको सहभागिता : परिवार योजना सेवाको सुनिश्चितता’ नाराका साथ बुधबार परिवार योजना दिवस मनाइँदैछ।
नेपालमा व्यवस्थित रूपमाकरिब छ दशकअघि कार्यान्वयनमा आएको परिवार योजना (नियोजन) का कार्यक्रमले याे क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन।
प्रमुख सूचकहरूमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै संकटमा पुगेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशत माथि उक्लिन सकेको छैन। तर, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत भन्दामाथि छ।
परम्परागत विधिको प्रयोग ९.८ प्रतिशत, कुल प्रजननदर २.३ र अपरिपूर्त माग २३.७ छ। यी सूचक करिब १२ वर्षभन्दा लामो समयदेखि स्थिर छन्। गत आर्थिक वर्ष महाशाखाले मात्र परिवार योजना कार्यक्रमका लागि मात्र ५९ करोड रुपैयाँ विनियोजन गरेको थियो। स्वास्थ्य क्षेत्रका दातृ निकायका पाँच अर्बभन्दा माथिको लगानी यस क्षेत्रमा भइरहेको छ ।
परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन कण्डम, पिल्स, डिपो, इन्प्लान्ट र आइयूसीडीको प्रयोगदर बढ्न नसक्नु, परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्य रूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले परिवार योजना कार्यक्रम संकटमा परेको हो। ‘परिवार नियोजनका सेवामा आवश्यक पर्नेको पहुँच नै छैन, स्वास्थ्य संस्थामा कण्डम राखिदिएर सेवाको पहुँच पुग्ने होइन, सरकारको लगानी बालुवामा पानी खन्याएजस्तो भयो’, वरिष्ठ चिकित्सक खेमबहादुर कार्कीले बताए।
परिवार नियोजन सेवामा सहज पहुँच छैन
लामो समय काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणका लागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ। महिलामा ती साधनका ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलासम्म नपुग्नु, ती सेवामा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुनुले पनि कम प्रयोग भएको हो ।
महाशाखाका अनुसार परिवार नियोजनका साधन प्रयोग गर्ने विवाहिता महिलामध्ये ३.३ ले मात्र इम्प्लान्ट र १.४ ले आयूसीडी रोज्छन्। सीप भएका सेवा प्रदायकले मात्र ती सेवा दिन सक्छन्। महिलाका लागि नजिकका स्वास्थ्य संस्था सेवा लिने स्थान भए पनि हिमाल १५, तराई र पहाडका २२ प्रतिशत स्वास्थ्य संस्थाले याे सेवा दिन सक्छन्।
अर्को एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्छन्। पछिल्लो जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्छन्। साधन प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउँछन्।
नेपालमा सबैभन्दा बढी महिलाले बन्ध्याकरण गर्ने गर्दछन्। बन्ध्याकरण गर्ने महिलाको संख्याको १५ र पुरुषको संख्या छ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन। अर्कोतर्फ आधुनिक परिवार नियोजनको प्रयोगदर सबैभन्दा बढी प्रदेश नं ३ मा ४९ र सबैभन्दा कम गण्डकी प्रदेशमा ३७ प्रतिशत मात्र रहेको महाशाखाले जनाएको छ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण