Health TV Online
Health TV Online
Health TV Online

साउनयता मात्रै देशभर एक हजार ५३७ जनामा डेंगु संक्रमण

साउनयता मात्रै देशभर एक हजार ५३७ जनामा डेंगु संक्रमण

काठमाडौं : साउनयता डेंगुबाट देशभरका एक हजार ५३७ जना संक्रमित भएका छन्। तीन महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण नहुँदा कर्णालीबाहेक सबै प्रदेशमा फैलिइसकेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश १ बढी प्रभावित छ। भदौ ११ गतेसम्मको तथ्यांकअनुसार प्रदेशको १८ मध्ये ९ जिल्ला डेंगुबाट प्रभावित छन्। यहाँ ५६३ जना संक्रमित छन्।

प्रदेश १ को सुनसरीमा ३३१ जना संक्रमित भएका छन्। धरानमा सबैभन्दा धेरै डेंगु रोगी भेटिएका महाशाखाको तथ्यांकमा उल्लेख छ। धरान यस वर्ष पहिलोपटक डेंगु भेटिएको स्थान हो। ३ महिनाअघि यहाँ डेंगु देखापरे पनि नियन्त्रणमा आउन सकेको छैन। संक्रमण घट्नुको साटो बढ्दै गएपछि नियन्त्रण प्रयास फितलो भएको भन्दै आलोचना भइरहेको छ।

प्रदेश १ कै झापामा पनि डेंगु टाउको दुखाइको विषय बन्दै गएको छ। महाशाखाका अनुसार, भदौ ११ गतेसम्मा यहाँका १२४ जना बिरामी उपचारका लागि अस्पतालको सम्पर्कमा पुगेका छन्।

प्रदेश १ को तुलनामा प्रदेश २ मा कम बिरामी छन्। प्रदेश २ का ९ जिल्लामध्ये ७ मा संक्रमण फैलिएको छ र बिरामीको संख्या १४ पुगेको छ।

प्रदेश ३ पनि प्रदेश १ कै हाराहारीमा देखिन्छ। महाशाखाले सार्वजनिक गरेको डेंगु संक्रमितको तथ्यांकअनुसार, भदौ ११ गतेसम्म अस्पतालको सम्पर्कमा पुगेका यहाँका ५५९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

प्रदेश ३ को मकवानपुर र चितवनमा सबैभन्दा धेरै संक्रमित छन्। मकवानपुरका २९६ र चितवनका २२४ जना डेंगुबाट संक्रमित भएका छन्। प्रदेश ३ को काभ्रे, भक्तपुर, ललितपुर र सिन्धुलीमा भने १\१ जना बिरामी भेटिएका छन्।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट गण्डकी प्रदेशका ३३९ जना बिरामी परेका छन्। बिरामीमध्ये अधिकांश कास्की जिल्लाका छन्।महाशाखाका अनुसार, अस्पतालको सम्पर्कमा पुगेकामध्ये कास्कीका ३५९ जनामा डेंगु पुष्टि भेटिएको छ। उनीहरूले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

प्रदेश ५ र सुदूरपश्चिममा भने डेंगुको संक्रमण अन्यको तुलनामा कम देखिएको छ। प्रदेश ५ मा ५६ र सुदूरपश्चिममा ६ बिरामी पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार