Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा पनि स्तनपान गराउने आमा घट्दै

सुदूरपश्चिममा पनि स्तनपान गराउने आमा घट्दै

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा छ महिनासम्म स्तनपान गराउने आमाको संख्या घटेको छ। आमा निजी र सरकारी कार्यालयमा कामकाजी हुन थालेपछि शिशुहरू स्तनपान अधिकारबाट वञ्चित हुन थालेका हुन्।

आमा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैँसी वा बट्टाको दूध खुवाउने गरेका छन्। गाईभैँसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको स्वास्थ्यकर्मी बताउँछन्।

कार्यालयमा शिशुलाई स्तनपान गराउने स्थान अभाव तथा सौन्दर्य बिग्रिने गलत मानसिकताले आमाले स्तनपान गराउने कार्य कम हुँदै जान थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्णरूपमा छ महिनासम्म स्तनपान गराउने ५.२ प्रतिशत आमा छन्।

छोरी भए तीन महिना वा चार महिनासम्म मात्रै स्तनपान गराउने चलन बढ्दै गएको उनले बताइन्। पाँच वा छ महिनामा अन्नप्राशन गराउने परम्परा भए पनि अचेल तीनदेखि चार महीनाभित्रै पनि भातको माड र अन्य खानेकुरा खुवाउने चलनसमेत बढेको छ।

‘शिशुलाई प्रतिदुई घण्टामा स्तनपान गराउनुपर्ने भए पनि त्यो हुनसकेको छैन’, निर्देशनालयका पब्लिक हेल्थ नर्स जोशीले भनिन्, ‘यसका कारण शिशुको वृद्धिमा अवरोध आउनुका साथ पोषणको कमीले शिशु रोगी हुनेक्रम बढ्दो छ।’

छ महीनासम्म आमाको दूध नै शिशुलाई पर्याप्त हुने भए पनि बट्टाको दूध खुवाउने गर्दा झाडापखाला लाग्ने र त्यसका कारण तौल घट्ने र शिशु कमजोर हुने उनको भनाइ छ।

शिशुलाई स्तनपान गराउनका लागि आमालाई घरपरिवारले समेत उत्प्रेरित गर्नुपर्ने र कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार