विज्ञ भन्छन्, प्रयाेग गर्न नजान्दा थाेरै विषादीकाे असर धेरै
काठमाडौं : विज्ञहरूले अन्य देशको तुलनामा नेपाली कृषकले कीटनाशक औषधिको प्रयोग कमै मात्र गर्ने भए पनि यसको बढी असर हुने गरेको बताएका छन्।
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माका अनुसार नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित ‘नेपालमा विषादीको प्रयोग र स्वास्थ्यमा असर’ विषयक कार्यक्रममा उनले भने,‘ नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजानेका कारण बढी असर देखि रहेको छ। ’
डा.शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो, इटालीमा १३ किलो विषादी प्रयोग हुन्छ । त्यता मात्रा र प्रक्रिया मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जति गम्भीर असर देखिँदैन।
विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिँदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन गरिरहेको बताए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रासायनिक विषादी विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सबै तह र तप्काबाट दबाब दिनुपर्ने बताए । सदनमा अलपत्र अवस्थामा रहेको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्ब पारित गराउन पहल गर्नुपर्ने उनको भनाइ छ।
यो विधेयकमा विषादीको अनुचित प्रयोग गरिएको खण्डमा कम्तीमा २५ हजार जरिवाना र एक महिना जेल सजाय हुने व्यवस्था गरिएको छ भने बढीमा दुई लाख रुपैयाँ जरिवाना र एक वर्ष जेल हुने प्रावधान राखिएको छ।
‘विषादीकै कारण धेरै मानिस अनाहकमा बिरामी हुन परिरहेको छ’, मुल्मीले भने, ‘त्यसैले राज्यले जनताको स्वास्थ्यमा अझ चिन्ता लिएर प्रचारात्मक अभियान चलाउनुपर्छ।’
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा.शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा जनता स्वस्थ हुने बताए।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले विषादीयुक्त खानाले फोक्सो, कलेजो, श्वासप्रश्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने बताइन्।
विभिन्न अध्ययनले विषादीबाट स्मरणशक्ति ¥हास हुने, मनोरोग–छालारोग लाग्ने पुष्टि भएको उनको भनाइ छ। उनका अनुसार विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर पुगी गर्भ नबस्ने, गर्भ तुहिने, प्रजनन क्षमतामा कमी हुने समस्या आउँछ।
फोरेस्ट एक्सनका कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको जानकारी दिंदै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको कारक विषादीयुक्त खाना भएको बताए। माटोले अहिले काम गर्न छाडेको, खानेकुरा अस्वस्थकर हुँदै गएको र पर्यावरण पनि बिग्रेको जानकारी उनले दिए।
कार्यक्रममा सबैभन्दा बढी तराईमा विषादी प्रयोग हुने गरेको र नेपालमा आउने विषादी मध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको जानकारी पनि दिइएको थियो। सामाजिक अभियन्ता मदन राइले मानव शरीर र ब्रम्हाण्ड पञ्चतत्त्वले बनेका कारणले जैविक पर्यावरणमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा यमुना घले र टीना गोर्खालीले पनि किटनाशक औषधी र विषादीका सम्वन्धमा प्रस्तुति दिएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित