‘सरकारी अस्पतालका उपकरण बिगार्ने, बिरामीलाई प्राइभेटमा पठाउने!’
काठमाडौं : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वीर अस्पतालका उपकरण बिगारेर बिरामी प्राइभेट संस्थामा पठाउने कर्मचारीलाई कडा कारवाही गर्ने बताएका छन्।
आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३०औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले वीर अस्पतालमा छिटो छिटो मेशिन बिग्रने समस्याकाे प्रसंग उठाउँदै मेशिन बिग्रेको नभई बिगारिएको भन्दै यस्ता कर्मचारीको पहिचान गरी कारवाही गरिने बताएका हुन्।
वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले भने, ‘केही दिन अघि मात्र एमआरआई मेशिनको उद्घाटन गरेर गएँ भोलिपल्ट बिग्र्यो भन्ने सुने। यस्तो पनि हुन्छ ? त्यही मेशिन प्राइभेटमा वर्षौ चल्ने अनि वीर अस्पतालमा चाहिं ल्याएको केही दिनमै बिग्रने कसरी हुन्छ ? यो सोचनीय विषय हो ।’ उनले थपे, हामीले त्यस्ता कर्मचारीलाई हतोत्साही गर्नैपर्छ । यसरी मेशिन बिगारी नै रहने हो भने सरकार पब्लिक प्राइभेट मोडालिटीमा जान्छ उनले भने । कम्तीमा मेशिन बिग्रेर बिरामी मारमा त पर्दैनन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री यादवले स्वास्थ्य मन्त्रालयको सबैभन्दा बढी बजेट वीर अस्पतालमा लगाएको भन्दै सो अनुरुप सेवा पनि दिनुपर्ने बताए । उनले उपचार, शिक्षा र अनुसन्धान यी तीनवटै क्षेत्रलाई अघि लिएर जानुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा अस्पतालका निर्देशक डा केदार सेन्चुरीले गत वर्ष अस्पतालले ४ लाख २२ हजार ७ सय ९९ जना बिरामीलाई सेवा दिएको जानकारी दिए । यसैगरी १३ हजार १ सय ५९ जनाले अस्पतालमा भर्ना भएर सेवा लिए भने ६ हजार ८ सय ७७ जनाको विभिन्न किसिमका शल्यक्रिया गरिएकाे बताए । उनले अस्पतालमा ७० वर्ष भन्दा मूनिका ८ हजार १ सय १९ जनाले निशुल्क सेवा लिएको पनि कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य राजयमन्त्री डा सुरेन्द्र यादव, पूर्व स्वाथ्यमन्त्री खगराज अधिकारी,स्वास्थ्य सचिव रामप्रसाद थपलिया लगायतले मन्तब्य राखेका थिए । अस्पतालमा लामाे समय सेवा दिएका र भर्खर मात्र रिटायर्ड भएका कर्मचारीलाई वार्षिकोत्सव कार्यक्रममा सम्मान समेत गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण