Health TV Online
Health TV Online
Health TV Online

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

नुवाकोट : त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ।

बुधबार अस्पताल भर्ना भएकी तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन्।

सुत्केरीपछि अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिए।

बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए।

नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौं पठाएको थियो। बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरी कक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले जानकारी दिए।

‘सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन्’, उनले भने, ‘चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो।’

सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार