१० वर्षमा निर्माण भयो अञ्चल अस्पताल भवन
गलकोट : धौलागिरि अञ्चल अस्पतालको सुविधासम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ।
तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रूपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि पूरा भएको उक्त अस्पतालले जनाएको छ।
अञ्चल अस्पतालको ‘ए’ ब्लक २०६९ मा नै निर्माण भएको थियो। २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन्।
अस्पतालको ‘बी’ ब्लकको भवन छ करोड, ६० लाख ३९ हजार २१४ रुपैयाँलागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले रु छ करोड, ५१ लाख १६ हजार २८८ रुपैयाँ लिएर पटकपटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो। ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताए।
तीनतले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन्। भवन अभावका कारण बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएका कारण भवन हस्तान्तरण नहुँदै नयाँ भवनबाट सेवा दिन बाध्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए।
हाल सम्पन्न भएको भवनबाट केही सेवा दिन शुरु भइसकेको छ भने केही सेवा दिन बाँकी रहेको अस्पतालले जनाएको छ। ‘बी’ ब्लकबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण कक्ष, टिकट काउन्टर, हाडजोर्नी तथा नसा रोग, नाक, कान र घाँटी, शल्यक्रिया, सामान्य उपचार सेवा, भिडियो एक्सरे, दन्तसेवा, बालरोग, स्त्री तथा प्रसूतिलगायत सेवा प्रदान गरिने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?