Health TV Online
Health TV Online
Health TV Online

अनिच्छित गर्भधारण बाध्य छन् अझै ४५ प्रतिशत महिला

अनिच्छित गर्भधारण बाध्य छन् अझै ४५ प्रतिशत महिला

पोखरा : एक अध्ययन प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्यामा महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएको देखाएको छ।

गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको अनुसन्धानले परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन्।

सन् २०१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने देखाएको छ। तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ।

अनिच्छित गर्भमध्ये करिब एक चौथाइ अनियोजित जन्म हुने र दुई तिहाइ गर्भपतन हुने र बाँकी गर्भ आफैँ खेर जाने गरेको कृपाका सहनिर्देशक डा. महेश पुरीले जानकारी दिए। उनका अनुसार गर्भधारण गर्न नचाहेका १५ देखि ४९ उमेर समूहका महिलामध्ये ४४ प्रतिशत परिवार नियोजनका आधुनिक साधनको चाहना हुँदाहुँदै पनि सहज पहुँच नहुँदा परम्परागत विधि अपनाउन बाध्य छन्।

नेपालका सात वटै प्रदेशमा परिवार नियोजनका साधन मागअनुसार पर्याप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। परिवार नियोजनका साधन गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ र प्रदेश २ मा सबैभन्दा कम ३८ प्रतिशत रहेको अध्ययनका क्रममा पाइएको छ।

तथ्याङ्कअनुसार ६४ प्रतिशत गर्भवतीले कम्तीमा चार पटक गर्भ जाँच गरेको र ६१ प्रतिशतले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगबाट बच्चा जन्माएको पाइएको छ।

पुरीका अनुसार गर्भ वा सुत्केरी अवस्थामा हुने स्वास्थ्य जटिलता भएका महिलाहरुमध्ये २७ प्रतिशतले मात्र आमा र नवजात शिशुले आवश्यक पर्ने सेवा पाउने गरेका छन् ।

सन् २०१६ को अनुमानित मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा २३९ छ। परिवार नियोजनका साधनको सम्पूर्ण आवश्यकता पूरा भएमा वार्षिक ३०० मातृमुत्यु दरलाई घटाउन सकिने अध्ययनले देखाएको छ ।

मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा पूरा गर्न सके मृत्युदरलाई घटाउन सकिने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार