प्रदूषणले आँखाका बिरामी बढे
काठमाडौं : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् ।
पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताउँछन्। ‘पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग (ओपीडी) सेवा र दैनिक पाँच जनाले शल्यक्रिया सेवा लिने गरेकोमा अहिले दैनिक ५०० ले ओपीडी र ३० भन्दा बढीले शल्यक्रिया सेवा लिएका छन्’, उनले भने।
अस्पतालको सेवा विस्तारको लागि क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले एक करोड रुपैयाँ सहयोग गरेको छ।
विगतमा एउटा शल्यक्रिया गर्न चार घण्टासम्म लाग्ने र दुई तीन दिनसम्म आराम गरेर बस्नुपर्ने बाध्यता भए पनि नयाँ प्रविधिको प्रयोगसँगै अहिले उक्त प्रक्रिया हटेको छ।
यस्तै अस्पतालमा कार्यरत कर्मचारीलाई क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले तालिम समेत प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा हाल १०० कर्मचारी तथा चिकित्सकले सेवा प्रदान गर्दै आएका छन्।
अस्पतालका अधिकृत केदार कार्कीले नेपाल आँखा अस्पतालले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्न लागेको बताए।
अस्पताल निर्माणका लागि सिमरा उपमहानगरपालिकामा जग्गा जुटाइएको छ।
अस्पतालले आर्थिक वर्ष २०७४÷७५ मा एक लाख २८ हजार ७१६ बिरामीलाई ओपीडी सेवा प्रदान गरेको छ भने ६ हजार बिरामीको शल्यक्रिया गरेको छ। चालू आर्थिक वर्षमा भने एक लाख १२ हजार ५२० बिरामीलाई ओपिडी सेवा र पाँच हजार बिरामीको सर्जरी गरेको अस्पतालका अधिकृत कार्की बताउँछन्।
अस्पतालले विभिन्न जिल्लाका १५ देखि २० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । तनहुँ, लमजुङ, गोरखा, जुम्ला, ओखलढुङ्गा, धादिङ, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ।
नेपाल आँखा अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १० हजार बिरामीलाई ओपिडी सेवा र एक हजार बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको छ। यस्तै विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले ८० रुपैयाँमा बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको छ। आँखाका बिरामीलाई दिने सेवालाई झन्झटमुक्त बनाउन टोकन प्रक्रिया शुरु गरिएको अस्पतालले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’