Health TV Online
Health TV Online
Health TV Online

सिटामोल र जीवनजल पनि पाइँदैन स्वास्थ्यचौकीमा

सिटामोल र जीवनजल पनि पाइँदैन स्वास्थ्यचौकीमा

गलेश्वर : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधि अभाव भएको छ। १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधि अभाव भएको हो।

अन्नपूर्णका जनता जीवनजल र सिटामोलजस्ता सामान्य औषधि लिन सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ। सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिअन्नपूर्णमा तीन महिनादेखि अभाव छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं. ६ घार,वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले बताएका छन्।

गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरिद गर्नुपर्ने अवस्था रहेको शिखवासीको गुनासो छ।

सरकारले मुलुकका सबै सरकारी संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भए पनि गाउँपालिकाको लापरवाहीका कारण अन्नपूर्णमा सहजै औषधिको व्यवस्था हुन सकेको छैन ।

मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनले बताए।

गाउँपालिकाले खरिद गरेको औषधि गाउँपालिकामा आउन ढिलाइ गरेकाले गाउँमा औषधि अभाव भएको गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार