भैँसेपाटी डाइबिटिज, थाइराइड तथा हार्ट केयर सेन्टरमा थाइराइडसम्बन्धी शिविर
काठमाडौं : विश्व थाइराइड दिवसको अवसर पारेर भैँसेपाटी डाइबिटिज, थाइराइड तथा हार्ट केयर सेन्टरले विशेष छुटका साथ शिविर सञ्चालन गरेको छ।
ललितपुरको भैँसेपाटी आवास क्षेत्रमा रहेको सेन्टरले यस वरिपरि रहेका बिरामीलाई लक्षित गर्दै शनिबारदेखि एक साताका लागि थाइराइड जाँच र अन्य जाँचमा विशेष छुटसहित शिविर सञ्चालन गरेको हो।
शनिबार परेको थाइराइड दिवसमा शुरु गरिएको शिविरमा पहिलो दिन नै ५० भन्दा बढी बिरामीले जाँच गराएको सेन्टरकी निर्देशक एवं थाइराइड विशेषज्ञ डा. मनिषा मिश्रले बताइन्।
‘नेपालमा पछिल्लो समय थाइराइडको समस्या बढ्दो छ। त्यसैले पनि दिवसको अवसर पारेर हामीले सबैको पहुँचमा यो सेवा पुगोस् र जनचेतना बढोस् भनेर विशेष छुटका साथ शिविर राखेका हौँ’, उनले भनिन्।
शुरुमा दुई दिनका लागि राख्ने योजना भए पनि बिरामीको घुइँचो देखेर एक सातासम्म लम्बाएको उनले जानकारी दिइन्। ‘हामीले हेर्ने धेरै बिरामी आफूलाई थाइराइड भएको धेरै वर्षसम्म पनि थाहा नपाएर अन्य समस्या भएपछि मात्र आउने गर्छन्’, उनले भनिन्, ‘हुन त थाइराइड इमरजेन्सीमै गइहाल्नुपर्ने रोग होइन। तर यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक छ। अन्यथा यसले अनेकौँ समस्या निम्त्याउन सक्छ।’
नेपालमा अझै पनि डाइबिटिज तथा अन्य जाँच भन्दा थाइराइड जाँच महंगो भएकाले सबैको पहुँचमा नरहेको मिश्रले बताइन्। यही कुरालाई मध्यनजर गर्दै याे शिविरमा ५०० रुपैयाँमा नै यसको जाँच गरेको उनको भनाइ छ।
शिविरमा थाइराइड जाँचसँगै विशेषज्ञ चिकित्सकसँगको परामर्श सेवा समेत लिन सकिने बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण