कार्यक्षेत्र नछाड्न स्वास्थ्यकर्मीलाई निर्देशन
जाजरकोट : जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा विदामा नबस्न परिपत्र गरिएको छ। महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
पटक–पटकका विभिन्न रोगका कारण थलिएको जाजरकोटमा अब यस्ता खालका घटना नहुन् भनेर समयमै सचेत भएको प्रजिअ बस्नेतले जानकारी दिए। तर महामारी फैलिन नदिन जिल्लाका विभिन्न स्थानमा बफर स्टक औषधि राख्नुपर्ने र जिल्लामा स्वास्थ्यकर्मीकोघुम्ती टोली राख्ने काम भने गरिएको छैन। स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रमदेखि पूर्वतयारीका लागि औषधिको कुनै व्यवस्था नगरेको पाइएको छ।
भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन्। सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन्।४२ वडा स्वास्थ्य संस्थाविहीन रहेका छन्। भएका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको वर्षौँ भएको स्थानीयवासीको गुनासो छ।
२०६६ मा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को ज्यान गयो। २०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनल फ्लु फैलियो। यसका कारण २७ को मृत्यु भयो। यसमा पनि पुरानै नियति दोहोरियो। २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो। सयौँ बिरामी परे।
मानिस अहिले पनि बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो धामीझाँक्रीकहाँ झारफुक गर्न जाने गरेका छन्। जाजरकोटलाई २०७१ मै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। अधिकांश नागरिक अहिले पनि खुला शौच गर्छन्। यहाँका करिब ७५ प्रतिशत मानिसले प्रदूषित पानी पिउने गरेको एक अध्ययनले देखाएको छ। दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’