Health TV Online
Health TV Online
Health TV Online

चार महिनादेखि तलब नपाएपछि सुशील कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

चार महिनादेखि तलब नपाएपछि सुशील कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

नेपालगञ्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी  एवम स्वास्थ्यकर्मी लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले शुक्रबार  अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसमक्ष ७२ घण्टे अल्टिमेटम पत्र बुझाएका छन्। चार महिना बितिसक्दा समेत तलब नपाएपछि आन्दोलन गर्न बाध्य भएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए। उनले भने, ‘खाली पेट कहिलेसम्म काम गर्ने? न नियुक्ति पत्र छ, न त तलब नै?’ समयमा तलब दिन नसक्नेले अस्पताल किन खोल्नुपरेको भन्दै उनले गुनासो गरे।

अस्पतालका निर्देशक डा. पौडेलले अस्पतालमा यसै पनि कर्मचारी कम भएको र भएकालाई पनि तलब नपठाएपछि काम गराउन समस्या भएको बताए। ‘खै यो अस्पताल सञ्चालनमा साह्रै अप्ठेरा आइरहेका छन्। पहिले नाममा समस्या भयो। त्यसपछि संघमा राख्ने कि, प्रदेशमा भन्ने विवाद भयो। अहिले आएर तलबका कारण कर्मचारी आक्रोशित छन्।’

उनले सरकारको प्राथमिकतामा यो अस्पताल पर्न नसकेको पनि जिकिर गरे। यसका साथै स्थानीय नेताहरु पनि अझै सशक्त भएर नलागेसम्म अस्पतालमा काम कारवाही अघि नबढ्ने उनले बताए। ‘विशिष्टीकृत सेवा दिने अस्पताल भनिएको छ। न त जनशक्ति छ, न त प्रविधि नै, कसरी सेवा दिने?’ उनले गुनासो गरे।

मध्यपश्चिमका बासिन्दाको आशाको केन्द्रको रूपमा रहेको क्यान्सर अस्पताल समयमा सञ्चालन हुन नसक्दा स्थानीय बिरामी अन्य अस्पतालमा जान बाध्य छन्। केही महिना अघि देखि ‘किमोथेरापी’ दिन शुरु गरेको भए पनि क्यान्सरका बिरामीलाई चाहिने शल्यक्रिया एवं ‘रेडियोथेरापी’का लागि पहल नै हुन सकेको छैन।

भवन सम्पन्न भएको वर्षौँ बित्दा समेत सेवा सञ्चालनमा ढिलाइ भइरहेको छ। अस्पताल स्थानीय बासिन्दाको पहलमा शुरु भएर पछि सरकारलाई हस्तान्तरण गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार