Health TV Online
Health TV Online
Health TV Online

कर्मचारी समायाेजनले खोप कार्यक्रम प्रभावित

कर्मचारी समायाेजनले खोप कार्यक्रम प्रभावित

काठमाडौं : स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ।

२०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम कसरी अगाडि बढ्छ भन्ने अन्योल बढेको हो।

पछिल्लो समय बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखा खारेजीमा परेको छ। शाखामा कार्यरत तालिमप्राप्त अनुभवी खोप सुपरभाइजर कर्मचारी अन्यत्र पदस्थापन हुने भएपछि खोप कार्यक्रम सञ्चालनमा पर्न लागेको गुनासो स्वास्थ्यकर्मीले गरे।

यसअघि आपूर्ति व्यवस्थापन महाशाखा र खोप शाखाअन्तर्गत खोप सुपरभाइजर तथा खोप सुपरभाइजर कोल्ड चेन अधिकृतको दरबन्दी रहेको थियो। ‘कर्मचारी समायोजनले ती महाशाखा तथा शाखाअन्तर्गत कार्यरत अनुभवी कर्मचारीको पदस्थापन अन्यत्र हुने भयो। नयाँ आउने कर्मचारी व्यवस्थापन गर्न लामो समय लाग्छ । यसले खोप कार्यक्रम नै असर पर्न सक्छ’, खोप सुपरभाइजर ओम उपाध्याय नेपालले भने।

खोप सुपरभाइजरले अन्तर्राष्ट्रिय क्षेत्रबाट खोप प्राप्त गर्ने, अनुकुल भण्डारण, वितरण तथा अभिलेखीकरण गर्ने कार्यमा सहजीकरण गर्छन्। हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ प्रकारका खोप बालबालिकालाई लगाउँदै आएको छ। याे कार्यक्रमअन्तर्गत गर्भवतीलाई समेत खोप लगाउने गरिएकाे छ।

बर्सेनि एक वर्षमुनिका करिब सात लाख बालबालिकाले खोप प्राप्त गर्छन्। नेपालमा व्यवस्थित रूपमा २०३५ देखि खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। नेपालको खोप कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट मानिएको छ।

खोपका कार्यक्रमका कारण दादुरा, निमोनिया, जापानिज इन्सेफ्लाइटिसबाट हुने मृत्यु उल्लेख्य घटेको छ। मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको निवारण भएकाे बताइएकाे छ। निमोनिया लहरेखोकीलगायत रोग उल्लेख्य रूपमा घटेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार