Health TV Online
Health TV Online
Health TV Online

लहानमा अवैध गर्भपतन बढ्यो

लहानमा अवैध गर्भपतन बढ्यो

लहान : पछिल्लो समय लहान बजारमा खुलेका अल्ट्रासाउण्ड सेन्टरमा र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ। निजी क्लिनिकका डाक्टर र उनका सहयोगी क्लिनिक आसपासको क्षेत्रमा घर भाडा लिएर भ्रूण हत्या गराउन संलग्न हुने गरेका छन्।

छोराको आशामा गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन्। कतिपय अनैतिक सम्बन्धबाट गर्भधारण गरेपछि समेत गर्भपतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, शहीद चोकको तरकारी बजार आसपासका स्थानमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मी सक्रिय गरेको स्थानीयको भनाइ छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ अभियान’ चलाइरहेकै वेला लहान, मिर्चैया, गोलबजार, सिरहालगायतका सहर र गाउँघरमा सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी भ्रूण हत्या फस्टाएको हो। गैरकानुनी धन्दा सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनगराउने गरेकाे स्थानीय बताउँछन्।

१२ हप्तासम्मको गर्भपतन गर्भवती महिलाको इच्छाअनुसार सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले निःशुल्क गर्छन्। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून छ। आर्थिक अवस्था कमजोर भएका गर्भवती मात्र अस्पतालमा गर्भपतन गराउन आउने चिकित्सकहरू बताउँछन्।

गत शनिबार मात्रै पनि लहान प्रहरीले सप्तरीकी एक युवतीलाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ। अस्पताल चोकबाट पक्राउ परेकी ती युवतीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ। अविवाहित ती युवतीले लहान–३ स्थित एक औषधि पसलमा अवैध गर्भपतन गराएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार