अस्पतालमा भेटिँदैनन् चिकित्सक, आँखा झिमिक्क गर्दा पुगिसक्छन् क्लिनिक
कैलाली : टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा कार्यकक्षमा नभई निजी क्लिनिकमा भेटिने गरेका छन्। अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पतालबाहिर निजी क्लिनिक छन्।
क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याइ हुन्छ। बिरामी जाँच गर्दागर्दै फोन आए चिकित्सक निजी क्लिनिकमा जाँचका लागि जाने गरेको बिरामीको गुनासो छ। ‘पूर्जी काट्नका लागि घण्टौँ लाइनमा बसेपछि पालो आउँछ। बिरामी जाँच गर्ने कक्ष पुग्दा डाक्टर भेटिँदैनन्’, बर्दियाबाट टीकापुर अस्पताल पुगेका शेरबहादुर विष्टले भने।
अस्पतालमा बिरामी जाँच गर्दागर्दै चिकित्सकहरू त्यताका बिरामीलाई अर्को पटक जाँच गर्न आउँदा क्लिनिकमै बोलाउँछन्। चिकित्सकले क्लिनिकमा जाँच गरेको पूर्जी शुल्क ५०० सय रूपैयाँसम्म असुल्ने गरेका छन्। पुर्जी शुल्क सँगसँगै विभिन्नखालका औषधि पनि थमाउने गरेको बिरामीले बताउँछन्।
याे समस्या अहिलेको भने होइन। अस्पताल विकास समितिले यस्ता समस्याको जनगुनासो बढी आउन थालेपछि अस्पतालको प्रवेशद्वारमै सीसी टिभी क्यामरासमेत जडान गरेको छ। डिजिटल हाजिरीको समेत व्यवस्था गरेको छ। तर पनि यो कार्य रोकिएको छैन। चिकित्सक अस्पतालमा समयमै आउँछन् तर हाजिर गरेर फेरि निजी क्लिनिकमै जाने गरेको एक औषधि पसलेले बताए।
अस्पतालले आफ्नो हाताभित्र सहुलियत औषधि पसल नै सञ्चालनमा ल्याए पनि अधिकांश बिरामीलाई थाहा नै छैन। चिकित्सकले सहुलियत औषधि पसल हुँदाहुँदै पनि आफ्नै क्लिनिकमा औषधि किन्न पठाउने गरेका छन् त केही पुर्जी हातमा बोक्दै आफ्नै क्लिनिकमा समेत पुग्ने गरेका छन्। त्यति मात्र नभई औषधि लेखेर पुर्जी दिँदा चिकित्सकले बिरामीलाई यो औषधि अन्त कतै नपाइने भएकाले बाहिर फलानो मेडिकलमा जानू भनेर भनेको बिरामीले जनाएका छन्।
चिकित्सकले अस्पतालको उपचारका सामग्रीको प्रयोग निजी क्लिनिकमा लगेर गर्ने गरेको समेत पाइएको छ। क्लिनिकमा लिइएका कति सामानहरु अस्पताल फर्किन्छ त कति सामान क्लिनिकमै हराउँछन्। अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष रतनबहादुर खड्काले चिकित्सकले निजी क्लिनिकमा बढी समय दिएको स्वीकार गरे। उनले भने ‘अस्पताल विकास समितिले अस्पतालको सबै निगरानी गर्थ्याे। हाल मेरो कार्यकाल सकिएको पनि दुई महिना भइसकेको छ, डाक्टरहरू ड्युटी नै छोडेर जान्छन्। यो गुनासो पहिले पनि आउने गरेको थियो।, अहिले अस्पताल नेतृत्वविहीन अवस्थामा छ।’
टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा बालरोग विशेषज्ञ ल्याएको छ तर आर्थिक मसान्त सकिनै लाग्दा बालरोग विशेषज्ञ अस्पतालमा रहने\नरहने भन्ने अन्योल पनि बढ्दै गएको समेत खड्काको भनाइ छ।
गत असार महिनामै अस्पताल विकास समिति नरहने निर्णय सरकारले गरेपछि टीकापुर नरगपालिका र अस्पताल विकास समितिका अध्यक्षबीच पनि ठूलो मनमुटाव रहँदै आएको छ। हालको अवस्थासम्म अस्पताल प्रदेश कि स्थानीय तहको मातहतमा रहने भन्ने अझै स्पष्ट भइनसकेको बताए।
स्रोतसाधनले सम्पन्न भए पनि दरबन्दीअनुसार चिकित्सक नहुनु र दरबन्दीका चिकित्सकले पनि आफ्ना निजी क्लिनिकलाई बढी प्राथमिकता दिनुले अस्पतालमा आउने बिरामीलाई सास्ती भइरहेको छ। टीकापुर अस्पतालमा दैनिक ३०० देखि ४०० सम्म बिरामी जाँचका लागि आउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’