शरीर काँप्ने समस्या भएकालाई अस्पतालले भन्याे, नेपालमा राेग पत्ता लाग्दैन
उदयपुर : परिवारकै शरीर काँप्ने समस्याका कारण अस्पताल पुगेका बिरामीहरूको रोग नेपालमा पत्ता नलाग्ने ठहर गरिएको छ।
एक हप्ताअघि उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएका रौतामाई गाउँपालिका ६ नामन्तका समाल मगर परिवारका सातजनालाई रोग पत्ता नलागेको भन्दै घर फर्काइएको हो।
न्यूरो अस्पतालका नशा रोग विशेषज्ञ टोलीले उनीहरूको स्वास्थ्य जाँच गर्दा नेपालमा पत्ता नलाग्ने भन्दै सबै बिरामीलाई फिर्ता पठाएको पीडित भलबहादुर समालले बताए। उनका अनुसार डाक्टर टोलीले रोग विराटनगरमा मात्र नभई काठमाडौंमा पनि पत्ता नलाग्ने भन्दै उपचारार्थ लगिएका सातैजना बिरामीलाई घर फर्काएको हो।
विषेशज्ञ टाेलीले बिरामी सबैको रगत, दिसापिसाब, खकार, मुटु, मृगौलालगायत भित्री बाहिरी सबै अङ्ग परीक्षण गरेको भलबहादुरले बताए। उनका अनुसार चिकित्सक टोलीले उनी र अर्का बिरामी पुष्प समालको टाउकोको ‘सिटी स्क्यान’ पनि गराएका थिए। अन्यको टाउको हल्लिएर थाम्नै नसक्ने भएकाले सिटीस्क्यान गर्नै नमिलेको उनले बताए।
२० वर्ष कटेपछि शरीरै काँप्ने अज्ञात रोगबाट पीडित समाल परिवारका बिरामीलाई गत १६ गते थप उपचारका लागि न्यूरो लगिएको थियो। एक दशकदेखि हात, गोडा काँप्ने, टाउको हल्लिने र केहीपछि पूरै शरीर काँपेर खान, बस्न, हिँडडुल गर्न नसक्ने बनाउँदै अन्तिममा बोली बन्द हुने रोगले दुर्गबहादुर समालको मृत्यु भइसकेको छ।
गत चैत २९ गते ३९ वर्षीय दुर्गबहादुरको मृत्यु भएपछि अरू बिरामीको उपचार गर्न रोग पत्ता लगाउन स्थानीयले माग गरेपछि उनीहरूलाई उद्धार गरी १५ गते जिल्ला अस्पताल ल्याइएको थियो।
प्रदेश सांसद नारायण बुर्जा मगरले गाउँका एउटै परिवारका दर्जन व्यक्तिमा शरीर काँप्ने रोग लागेको भन्दै उपचार गर्न प्रदेशसभामा सरकारको ध्यानाकर्षण गरेका थिए। त्यसपछि स्वास्थ्य निर्देशनालय प्रदेश कार्यालयले निर्देश गरेअनुसार घरमै पुगेर उद्धार गरी उपचारका लागि ल्याइएको वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलले बताए।
१० वर्षदेखि शुरु भएको व्यथा निको पार्न भने अस्पताल र औषधीको साटो धाँमीझाँक्रीको सहयोग लिँदै आएको समालले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण