Health TV Online
Health TV Online
Health TV Online

३४२ महिलाले गराए पाठेघर जाँच

३४२ महिलाले गराए पाठेघर जाँच

लम्की : कैलालीको जानकी गाउँपालिकाको गौलौरीमाआयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन्।

शनिबार आयोजित निःशुल्क शिविरमा सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाँझोपन, २३ अविवाहित महिलामा महीनावारीको गडबडी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ। यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिए।

शिविरमा सेवा लिन आएकामध्ये एकजनाको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरूलाई पनि नेपालगञ्ज सिफारिश गरिएको छ।

‘शिविरमा सेवा लिन आएका करिब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ। शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ’, मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने, ‘ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन्।’

शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा. अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. बबिता शाह र डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा. अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार