Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रेबिजका कारण काठमाडाैंमै तीन महिनामा १२ जनाको मृत्यु, चिकित्सक भन्छन्, चेतनाकाे कमी

रेबिजका कारण काठमाडाैंमै तीन महिनामा १२ जनाको मृत्यु, चिकित्सक भन्छन्, चेतनाकाे कमी

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजका कारण तीन महिनामा १२ जनाको मृत्यु भएको छ।

भ्याक्सिन लगाएर सजिलै बच्न सकिने रोगमा पनि यति ठूलो संख्यामा बिरामीको मृत्यु भएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।

अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बचाउन सकिने बिरामीको पनि मृत्यु भएको देख्नुपरेको भन्दै यसबारे जनचेतना नै नपुगेको बताए। ‘सरकारले निःशुल्क भ्याक्सिन वितरण गर्दागर्दै पनि यति ठूलो संख्यामा काठमाडौंमै बिरामीको मृत्यु हुनुले दूरदराजको अवस्था कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ’, उनले भने।

कुकुरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा हुँदहुँदै पनि धेरैले घरमै पालेको कुकुर त त हो नि भनेर नलगाउने गरेको उनले बताए। यस्तै कतिले कुकुरले टोक्दा घाउ सानो छ भनेर सुई नलगाउने गरेकाले यस्तो स्थिति सिर्जना भएको पुनकाे भनाइ छ।

सबैभन्दा बढी घरमै पालका कुकुरले टोक्ने गरेका घाइते उपचारका लागि आउने गरेको अस्पतालको भनाइ छ। विशेषगरी खान दिने बेलामा, नुहाइदिने वेलामा टोक्ने गरेको पाइएको छ।

हुन त घरमा पालेका कुकुरलाई नियमित भ्याक्सिन दिएको छ । बाहिर अन्य कुकुरको संगतमा गएको छैन भने त्यस्तो अवस्थामा टोकिने व्यक्तिलाई भ्याक्सिन दिनुपर्दैन। तर कुकुर अन्य कुकुरको सम्पर्कमा बाहिर जानेगरेको छ भने विश्वास गर्न नहुनेडा. पुन बताउँछन। रेबिज यस्तो रोग हो जुन लाग्नु भन्दाअघि मात्रै भ्याक्सिन लगाएर यसबाट बच्न सकिन्छ । रेबिज भइसकेपछि मृत्युबाहेक अर्को उपाय नै छैन ।

टेकु अस्पतालमा प्रत्येक दिन रेबिज विरुद्धको भ्याक्सिन १५० भन्दा बढी नयाँ बिरामी आउँछन्। बिहीबार पनि अस्पतालमा भ्याक्सिन लगाउने बिरामीको भिडभाड छ। शंखमूलका सिद्धार्थ थापा विद्यालय विदा भएका कारण चौरमा साथीहररूसँग खेलिरहेका थिए। उनलाई छिमेकीको कुकुरले खुट्टामा टोक्यो। भ्याक्सिन लगाउन टेकु आइपुगे। उनीसँगै भ्याक्सिन लगाउँदै थिए नुवाकोटका कान्छा लामा । उनलाई आफै कुकुरले खाना दिने बेलामा कुकुरले टोकेको थियो।

यस्ता बिरामी टेकु अस्पतालमा आजभोलि धेरै आउँछन्। भ्याक्सिन लगाइदिन चिकित्सकलाई पनि भ्याइनभ्याइ हुन्छ ।
तर डा. पुन यो संख्या थोरै भएको बताउँछन्। ‘जतिले भ्याक्सिन लिनुपर्ने हो, उनीहरू आएकै छैनन’, उनी भन्छन्, ‘कुकुरले टोकेको छ र शंका लाग्छ भने भ्याक्सिन लगाउनैपर्छ। अर्को विकल्प छैन।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार