गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन थालेपछि गर्भवतीले प्रसूतिगृहमै पुगेर सेवा लिन थालेका छन्।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि नेपालका अनुसार नगरपालिकाले २० लाख ५० हजार रूपैयाँ लगानीमा १० कर्मचारीसहित प्रसूतिगृह र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो। यहाँ तालिमप्राप्त पाँच स्टाफ नर्सबाट सामान्य प्रसूति सेवा प्रदान गरिनुका साथै नियमित सुत्केरी जाँच, आइरन चक्की वितरणलगायतसेवा पनि प्रदान गरिन्छ।
नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरूको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पुर्याउने गरेको छ। खर्च नहुँदा यहाँका विपन्न महिला घरमै परम्परागत तरिकाले बच्चा जन्माउन बाध्य थिए। अस्पतालमा प्रसूति गराउन एम्बुलेन्स र लाग्ने महङ्गो शुल्क जोहो गर्नै उनीहरूलाई समस्या हुने गरेको थियो। ‘नगरपालिकाले सञ्चालन गरेको प्रसूतिगृहमा निःशुल्क सेवा लिन पाइने तथा घरबाटै प्रसूतिगृहसम्म एम्बुलेन्सले निःशुल्क ल्याउने लैजाने सुविधा दिएपछि विपन्न समुदायका महिलालाई सहज भएको छ, अस्पतालमा प्रसूति गराउने सङ्ख्या पनि बढेको छ’, स्थानीय प्रतिभा कार्कीले भनिन्।
प्रसूतिगृहमा अहिलेसम्म ४९ महिलाले सामान्य अवस्थामै बच्चा जन्माएका छन्। १०७ गर्भवती महिला त्यहाँ पुगेकामा ५८ शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीलाई भने बुटवल, देवदह र सदरमुकाम परासीका विभिन्न अस्पतालमा सिफारिस गरिएको प्रसूतिगृहकी स्टाफ नर्स सविना श्रीष थापाले जानकारी दिइन्।
प्रसूतिगृहमा हालसम्म ५०० महिलाले नियमित गर्भ परीक्षण गराएका छन्। यहाँ दैनिक १५\२० सेवाग्राही परीक्षणका लागि आउने गरेका छन् भने मासिक सरदर १२ जनाले प्रसूति सेवा लिने गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण